खरसाङ: मंगर संघ भारत खरसाङ शहरिया समितिको तर्फबाट खरसाङको माथिल्लो डुमाराम बस्ती निवासी डा. भावना थापालाई सम्बर्ध्दना जनाइएको छ। खरसाङको माथिल्लो डुमाराम बस्ती निवासी पिता डम्बर थापा र माता पम्फा थापाकी सुपुत्री भावना थापाले हालैमा नर्थ इस्टर्न हिल युनिभर्सिटी, शिलङबाट भौतिक विज्ञानमा विद्यावारिधि (पीएचडी) उत्तीर्ण गरेकी थिइन्। उनको यो उपलब्धिको लागि मंगर संघ भारत खरसाङ शहरिया समितिको तर्फबाट सम्बर्ध्दना जनाइएको छ। यस अवसरमा उनलाई मुख्य अतिथिको रुपमा उपस्थित कार्यकारी सभासद एवं मंगर संघ भारतको संरक्षक रतन थापाको बाहुलीबाट फूल गुच्छा र खदार्पणसहित शल ओढाएर साथै सम्बर्ध्दना पत्र प्रदान गरेर सम्बर्ध्दना जनाइएको छ। डा. भावना थापाले आफ्नो शिक्षा खरसाङको ज्ञानेश्वर मेमोरियल स्कूलबाट गर्दै बाह्रौं श्रेणीको परीक्षा हिमाली बोर्डिङ स्कूलबाट उत्तीर्ण गरेकी थिइन्। उनले विज्ञान विषयमा स्नातक बंगलोरको पुट्टटपुर्तीस्थित श्री सत्य साई ईन्स्टीट्युटबाट गरेकी थिइन् भने स्नातकोत्तर सिक्किम मणिपालबाट उत्तीर्ण गरेकी थिइन्। उनले भौयिक विज्ञानमा आफ्नो विद्यावारिधि नर्थ इस्टर्न हिल युनिभर्सिटी शिलङबाट प्रो. पीके पात्रको निर्देशन र खरसाङ महाविद्यालयका प्राध्यापक डा. अमीत शंकरको सहयोगमा ५ वर्षमा पूरा गरेकी थिइन्। उक्त सम्बर्ध्दना कार्यक्रमपछि पत्रकारहरुसित कुराकानी गर्दै डा. भावना थापाले आफुलाई खुशी लागेको र आफ्नो सफलतामा माता पिता र आफ्ना गुरुहरुलाई धन्यवाद दिएका छन्। उनले भौतिक विज्ञानमा विद्यावारिधि गर्नु सजिलो नभए पनि कडा मेहनत र परिश्रम गरे सम्भव हुने बताउँदै आउने नयाँ विद्यार्थीहरुलाई पनि यसरी नै विद्यावारिधी गर्न प्रोत्साहित गरेकी छन्। उनी हालमा खरसाङको सन्त अल्फन्सेस विद्यालयमा भौतिक विज्ञानमा शिक्षिकाको रुपमा कार्यरत् छन्। यस सम्बर्ध्दना विषयमा मंगर संघ भारत खरसाङ शहरिया समितिको सचिव सीबी आलेले पनि जानकारी गराएका छन्।