गान्तोक: आक्रमण स्पोर्टिङ क्लब वर्ष २०२५को सिका (सिक्किम क्रिकेट एसोसिएशन) महिला क्लब क्रिकेट च्याम्पियन बनेको छ। शुक्रबार पूर्व सिक्किमको माइनिङस्थित सिक्किम क्रिकेट मैदानमा आयोजित फाइनल खेलमा आक्रमणले इराइसिस क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै दोस्रो पटक यो उपाधि हत्याएको हो।
टस जितेर पहिले बलिङ रोजेको आक्रमणले उत्कृष्ट प्रदर्शन गर्दै इराइसिसलाई निर्धारित २० ओभरमा ६ विकेट हत्याउँदै मात्र ८७ रनमा रोक्यो। इराइसिसका लागि प्रमिला क्षेत्रीले सर्वाधिक ३२ रनको संयमित इनिङ्स खेलिन् भने आक्रमणको तर्फबाट छेरेङ याङ्देन लेप्चा र पुर्नीमाया गुरुङले दुई-दुई विकेट लिए। जवाफमा आक्रमणले सहजैसित लक्ष्यलाई पछ्याए।
पुर्नीमाया गुरुङ (४६ रन) र डिकी ल्हामु भुटिया (२३ रन) बीचको ६९ रनको महत्वपूर्ण साझेदारीले जित सुनिश्चित गर्यो।
उल्लेखनीय छ, यो जितसँगै आक्रमण स्पोर्टिङ क्लब सिका महिला क्लब प्रतियोगिता दुई पटक जित्ने पहिलो टोली बनेको छ। टोलीले प्रतियोगिताको सुरुवाती संस्करण २०२२ मा जितेको थियो भने २०२३ र २०२४ मा उपविजेता बनेको थियो।
प्रतियोगिताको विजेता टोलीलाई ट्रफीसँगै नगद २ लाख अनि उपविजेतालाई ट्रफीसँगै १ लाख रुपियाँ प्रदान गरियो। फाइनल खेलको उत्कृष्ट खेलाडी आक्रमण स्पोर्टिङ क्लबकी पुर्नीमाया गुरुङलाई चयन गरियो भने टुर्नामेन्टको उत्कृष्ट खेलाडी अल्पाइन स्पोर्टिङ क्लबकी समयिता रोय प्रधान बनिन्। यसरी नै सर्बाधिक रन बनाउने खेलाड़ी समयिता रोय प्रधान र सर्वाधिक विकेट लिने खेलाडी डेञ्जोङ्ग जीसीसी-की मेनुका गुरुङ बनिन्।