झापा: फिल्म ‘महाभोज’को नयाँ प्रदर्शन मिति घोषणा भएको छ। निर्माताले शनिबार विज्ञप्ति जारी गर्दै १३जून देखि देशब्यापी रिलिज हुने जनाएका छन्।
यसअघि यो फिल्म शुक्रबारदेखि प्रदर्शन तयारीमा थियो। विभिन्न समूहले आयोजना गरेको विरोध प्रदर्शनलाई कारण देखाउँदै निर्माताले पूर्वनिर्धारित प्रदर्शन मिति स्थगन गरेका थिए। निर्देशक दिनेश राउतले यो फिल्मको नयाँ प्रदर्शन मिति घोषणा भएको जनाए। ‘अब यो फिल्म जेठ ३० गते रिलिज हुँदैछ। यो हाम्रो समाजको कथा हो, तपाईँहरूको साथ र मायाले मात्र हामी सफल हुन्छौँ। त्यसैले यही मितिमा नजिकको हलमा गएर फिल्म हेर्नुहोला’ उनले भने।
केही दिनअघि यो फिल्मको काठमाडौं प्रिमियर आयोजना गरिएको थियो। सहकारी संकटको कथावस्तुमा बनेको फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौलाको अभिनय छ।क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको प्रस्तुतिमा बनेको यस फिल्मका निर्माता हिमाल कडरिया हुन्।