दार्जिलिङ: माटो पनि छोड्दिन, बाटो पनि छोड्दिन भनी आज ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको संयोजक
अजय एडवर्ड्सले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत यस्तो सन्देश साझा गरेका छन्। उनले यो दीर्घकालदेखि न्याय र पहिचानको खोजीमा रहेको जनताको आत्मा समेटिएको अभिव्यक्ति हो भनी बताएका छन्। अजय एडवर्ड्सले सामाजिक सञ्जालमा ‘माटो पनि छोड्दिन, बाटो पनि छोड्दिन’ भनी लेखेका छन्। उनले विषयमा भने, ‘यो एक साधारण वाक्य जस्तो देखिए तापनि, यो उक्ति गहिरो भावनात्मक अर्थ र राजनीतिक स्पष्टता बोकेको सङ्घर्षको प्रतिक बनिसकेको छ। यसले गोर्खा आन्दोलनको मूल मर्म, पहिचान र विकास दुवैको अधिकार उजागर गर्दछ।’
एडवर्ड्सले अघि भने,
“यो केवल नारा होइन। यो त हाम्रो दर्शन हो — इण्डियन गोर्खा जनशक्ति फ्रन्टको, हाम्रो आन्दोलनको, र हाम्रो जनताको भविष्यप्रति रहेको हाम्रो दृष्टिकोणको।”
दार्जीलिङको गोर्खाहरूका लागि “माटो” केवल माटो होइन, यो त पिता-पुर्खाको थलो, सांस्कृतिक धरोहर र “गोर्खाल्याण्ड” को बहुप्रतीक्षित सपनाको प्रतिक हो। भारतीय संघर्षभित्र एक पृथक राज्यको आकाङ्क्षा हो। यो त भाषा, अस्तित्व, र पहिचानको मूर्त रूप हो, जुन प्रायः मुलधारको कथा-कहानीमा उपेक्षित रहँदै आएको छ।
उनले अझ लेखेका छन् -“बाटो” भन्नाले केवल सडक होइन यो त संघर्षको मार्ग हो, आशाको यात्रा हो। दशकौँदेखि प्रणालीगत उपेक्षा, भ्रष्टाचार र असङ्ख्य वाचा-भङ्गका कारण पहाडका बासिन्दाहरू शिक्षादेखि स्वास्थ्य, रोजगारीदेखि पूर्वाधारसम्मका आधारभूत आवश्यकताहरूको लागि पनि सङ्घर्षरत छन्। बाटो भन्नाले जीवनको गरिमाका साथ बाँच्न पाउने अधिकारको प्रतीक हो, प्रगतिको मार्ग हो। माटो पनि नछोड्ने ,बाटो पनि नछोड्ने घोषणाले, श्री एडवर्ड्सले एउटा दृढ सन्देश दिनुभएको छ गोर्खा समुदाय पहिचान र विकास बीच कुनै सम्झौता गर्ने छैन। उनीहरू दुवै चाहन्छन् ,विशेष सुविधा स्वरूप होइन, अधिकारको रूपमा।
ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको संयोजक अजय एडवर्ड्सले अझ लेखेका छन् – ‘दार्जीलिङका राजनीतिक परिवेशहरू क्रमशः परिवर्तन हुँदै गर्दा, यो अभिव्यक्तिलाई एकजुटताका लागि गरिएको आह्वान मात्र नभई भविष्यको राजनीतिक मार्गचित्रका रूपमा पनि हेरिएको छ। युवा पुस्ता, नागरिक समाज र स्थानीय जनआन्दोलनहरूको बढ्दो सहभागितासँगै, माटो र बाटोको यो संयुक्त यात्रा गोर्खा राजनीतिक विमर्शको नयाँ अध्याय बन्न थालेको देखिन्छ।’