खरसाङमा सन्त पावल क्याथोलिक चर्चले निकाल्यो माता मरियाको भक्तिमा शोभा यात्रा

IMG-20250531-WA0219

“ईश्वरको वचनले गर्भवती भएका हामी सबैको प्रथम कर्तव्य मानिसको सेवा गर्नु हो: फादर अल्फन्स लेप्चा

खरसाङ: धन्य कुमारी मरियाको एलिजाबेथसँगको भेटघाट भएको स्मृतिमा मई 31 को दिन विश्वका क्याथोलिक मण्डलीले आजको दिनलाई भव्यताको साथमा पालन गर्ने गर्छ। लूकाको सुसमाचारमा वर्णन गरिए अनुसार, मरियाले स्वर्गदूत गाब्रियलबाट आफू ईश्वरको आमा बनिने सन्देश प्राप्त गरेपछि आफ्नी दिदी एलिजाबेथलाई भेट्न गएको घटनालाई आजको पर्वले स्मरण गर्छ। यो घटना मरियम भक्तिको एक प्रमुख हिस्सा हो र क्याथोलिक चर्चमा महत्त्वपूर्ण छ। यसै घटनालाई पर्वको रूपमा पालन गर्दै खरसाङका सन्त पाउल क्याथोलिक चर्चले माता मरियाको शोभा यात्रा निकालेको छ। सन्त पावल गिर्जा घरमा भेला भएका मण्डलीका सदस्यहरूलाई आजको पवित्र दिवसको औचित्य अनि महत्व बारे फादर अल्फन्स लेप्चाले भने, “पोप पावल छैटौँको समयदेखि मई महिनाभरि क्याथोलिक मण्डलीले माता मरियाको भक्ति गर्दछ। जतिबेला गाब्रीएल दूतले मरियालाई ईश्वरको पुत्र गर्भधारण गर्ने सन्देश दिए, उनले तुरन्तै अर्का गर्भवती दिदी एलिजाबेथलाई भेट्न गएर उनको सेवा गरे। त्यसरी नै हामी पनि ईश्वरको वचनले गर्भवती भएका छौं। त्यो वचन अनुसार हामीले पनि अरू मानिसको सेवा गर्नुपर्छ।”
ठूला ठूला व्यानर अनि माता मरियाको मूर्तिलाई डोलीमा बोकेर चर्च परिसरदेखि शोभा यात्रा शुरु भयो। भजन गाउँदै र प्रार्थना गर्दै यात्राले खरसाङ बजारको परिक्रमा गर्यो। यात्रा सन्त अल्फन्स विद्यालयबाट आयोजित ख्रीष्टिय मिस्सा बलिदानमा परिणत भएर टुङ्गियो। क्याथोलिक चर्चले यो घटनालाई दुई आमाहरुको मिलन दिवसको रूपमा पालन गर्ने गर्छ। एउटी आमा जोहन ब्याप्तिस्टको, जसले यीशुको निम्ति बाटो तयार पारिदिए अनि दोस्रो आमा स्वयं यीशु ख्रीष्टको। क्याथोलिक धर्म मण्डलीले यस भेटघाटलाई प्रशंसादेखि सेवा तर्फको चर्चको नीति अनि शिक्षालाई आफ्नो सामाजिक न्यायको सिद्धान्तमा प्रमुखता दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement