गान्तोक: उत्तर सिक्किमको प्राकृतिक सुन्दरता अवलोकनका लागि आएका ओडिशा र पश्चिम बङ्गालका १० जना पर्यटक बोकेको वाहन हिजो राति लाचेन र चुङ्थाङ बीचको मुन्सिथाङ क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ। चालकसहित ८ जना अझै बेपत्ता छन्, भने दुई जना पर्यटकलाई गम्भीर अवस्थामा उद्धार गरिएको छ।
दुर्घटना राति ८ बजे भएको बताइएको छ। जानकारीअनुसार, उक्त वाहन लाचेनबाट चुङ्थाङतर्फ झर्दै गर्दा मुन्सिथाङमा चालकले नियन्त्रण गुमाउँदा सवारी साधन सडकबाट तल टिस्टा नदीमा खसेको हो। दुर्घटनामा दुई जना पर्यटक भिरबाट उछिटिएर बाहिर निस्कन सफल भए। उनीहरूलाई चुङ्थाङ स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि गान्तोकस्थित एसटीएनएम अस्पतालमा थप उपचारका लागि पठाइएको छ।

बेपत्ता रहेका ८ जनाको खोजीका लागि एनडीआरएफ, भारतीय सेना, आइटीबीपी, जिल्ला प्रशासन र स्थानीयबासीहरूले युद्धस्तरमा खोजी अभियान जारी राखेका छन्। तर अहिलेसम्म उनीहरूको अत्तोपत्तो लागेको छैन। समय बित्दै जाँदा जीवित उद्धारको आशा क्रमशः कमजोर बन्दै गएको छ।
मुख्यमन्त्री प्रेमसिंह तामाङले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित र उनीहरूका परिवारलाई सबै प्रकारको सम्भव सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन्।

यसैबीच, ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीले पनि सिक्किमका मुख्यमन्त्रीसँग फोन सम्पर्क गरेर उद्धार प्रयासबारे जानकारी लिएका छन्।