सन्दर्भ: प्रधानमन्त्रीको भ्रमण र गोर्खाल्याण्डपन्थी दलहरूको निष्क्रियताले उब्जाएका प्रश्नहरू

IMG-20250528-WA0254

✏️ केशवराज पोखरेल

माननीय प्रधानमन्त्री नरेन्द्र मोदीजी भोलि लगभग बिहान सिक्किम आइपुग्नेछन्। सिक्किममा बिहान ११ बजीदेखि प्रधानमन्त्रीजीको आधिकारीक कार्यक्रम सम्पन्न हुनेछ। त्यसपछि अपराह्न २ बजी उनी पश्चिम बंगालको अलिपुरद्वारमा एउटा आधिकारीक कार्यक्रममा भाग लिनेछन्।
माननीय प्रधानमन्त्री महोदय यसरी हाम्रै आगँनमा आइरहेका छन्। उनी हाम्रो घराँगनमा आउनु भनेको पूरै देश आउनु बराबर हो। यसैले प्रधानमन्त्रीजीको भ्रमणलाई केन्द्र गरेर हालमा राष्ट्रियस्तरकै प्रशासनिक अनि राजनैतिक तन्त्रहरू हाम्रो घराँगनमा सक्रिय छन्। राष्ट्रिय-अन्तर्राष्ट्रिय मीडियाहरूको आँखा पनि हाम्रो भेकमा रहेको छ। यस्तो महत्वपूर्ण समयमा यहाँ गोर्खाल्याण्डको माहौल गरम गरिनुपर्ने थियो।
गोर्खाल्याण्डको नाममा जनताको भोट हासिल गर्ने अनि गोर्खाल्याण्डको निम्ति समर्पित छु भन्ने राजनैतिक दल अनि नेतृत्वहरूले गोर्खाल्याण्डको मुद्दालाई चर्चा-परिचर्चामा ल्याएर, रणनीतिगत हिसाबमा गोर्खाल्याण्ड मागको माहौल सृष्टि गर्नुपर्ने थियो। मीडिया, सोसियल मीडिया हरेक प्लेटफार्महरूमा गोर्खाल्याण्डको मुद्दा गरम गरिनुपर्ने थियो। ताकि प्रशासनिक अनि राजनैतिक तन्त्रहरूले उक्त मुद्दाको गम्भीरता हेरेर, माहौल बुझेर प्रधानमन्त्रीको कानसम्म पुरयाउन बाध्य बनोस्। प्रधानमन्त्री स्वयँलाई पनि गोर्खाल्याण्डको मुद्दाको गाम्भीर्यता बोध होस्। तर कुनै पनि राजनैतिक दलले यस्तो महत्वपूर्ण समयमा पनि यस प्रकारको गम्भीरता नदेखाउनु दुर्भाग्यपूर्ण रहेको छ। यस्तो महत्वपूर्ण समयमा पनि निष्क्रिय बसेको देख्दा के उनीहरू साँच्चै गोर्खाल्याण्ड मुद्दाप्रति गम्भीर छन् के त? भन्ने प्रश्न खड़ा भएको छ।
सासंद राजु विष्टज्यू जसले गोर्खाल्याण्ड ल्याउँछु भनेर महाकाल बाबाको काँखमै बसेर कसम खाए।
पहाड़वासीलाई गोर्खाल्याण्ड कै सपना देखाएर दुई-दुईपल्ट सासंद बने उनी स्वयँले जुन समयमा गोर्खाल्याण्डको मुद्दाको गम्भीरता प्रधानमन्त्रीलाई बताउनुपर्ने हो त्यही सठीक समयमा प्रधानमन्त्रीलाई म डिक्टेट गर्न सक्दिन भनेर पन्सिने काम गरिसकेका छन्। आफ्नै संसदीय क्षेत्रमा प्रधानमन्त्रीको आगमन भएको समयमा गोर्खाल्याण्डको गहनता बुझाउने प्रमुख जिम्मेवार व्यक्तिले यसो भन्नु भनेको उनको कार्यक्षमतामाथि प्रश्नचिह्न उठ्नु हो। यसबाहेक सासंद राजु विष्टको उक्त बयानले गोर्खाल्याण्ड प्रेमी जनताको उनीमाथिको भरोषा र विश्वासलाई खरानीमा मिलाएको छ।
प्रधानमन्त्री महोदयले विगतमा पनि अलिपुरद्वारबाट नै गोर्खाको सपना मेरो सपना भनेका थिए जो आज पनि गोर्खाल्याण्डप्रेमी जनताको कानमा गुञ्जिरहेका छन्। यसबाहेक ११ जातगोष्ठीलाई यथाशीघ्र जनजातिको मान्यता दिइनेछ भनेर उहाँले दिनुभएको वक्तव्यलाई पनि अझैसम्म गोर्खाहरूले मनमा सिउरिएर नै हिड़िरहेका छन्।
५६ इञ्चको छात्ती भएको माननीय प्रधानमन्त्रीको वक्तव्य भनेको राष्ट्रको सबभन्दा ठूलो तन्त्रद्वारा दिइएको वक्तव्य हो। या भनौं राष्ट्रले नै उक्त दुईवटा मुद्दामाथि लगाइएको सील- मोहर पनि हो। तर प्रधानमन्त्रीको उक्त वचन पूरा नभएको पनि लगभग ९ वर्ष बितिसकेको छ। यति ठूलो तन्त्रबाट घोषणा भइसकेको मुद्दा पनि पार नलाग्नु भनेको यी मुद्दाहरूमाथि जिम्मेवारी लिएका जनप्रतिनिधि अनि घटक राजनैतिक दलहरूको कमजोरी हो। उनीहरूले यस मुद्दामाथि लवी बनाउनु नसकेको हो भन्ने हामीलाई लाग्छ।
अर्कोतिर, पुरानै वाचा-बन्धन नै अहिलेसम्म पूरा नभएको अवस्थामा यसपालिको प्रधानमन्त्रीको भ्रमणमा गोर्खाहरूको निम्ति कुनै वाचा- बयानहरू आउँला त?
के गोर्खाहरूको बारेमा यसपालि प्रधानमन्त्री महोदयले कुनै खुशीको खबर लिएर आउछन् त?
यदि कुनै खुशीको खबर आएन भने गोर्खाल्याण्डको नाम लिएर सासंद, विधायक भएका पहाड़का जनप्रतिनिधिहरूले जनतालाई के जवाब दिने हो? कि सासंद राजु विष्टले झै उनीहरू पनि प्रधानमन्त्रीलाई डिक्टेट गर्न सक्दिन भनेर पन्सिन चाहिरहेका हुन्?
यो महत्वपूर्ण समयमा गोर्खाल्याण्डको निम्ति भनेर गठन गरिएका राजनैतिक पार्टी, सघं- संस्था अनि नेताहरू मौन होलान्। तर गोर्खाल्याण्डप्रेमी जनतामा हलचल छ, उथुल-पुथुल छ। गोर्खाल्याण्ड मुद्दाको हावा अहिले हरेक गोर्खाहरूको मन-मस्तिष्कमा चलिरहेको छ। यस्तो महत्वपूर्ण समयमा गोर्खाल्याण्डको निम्ति इमान्दार छु भन्ने राजनैतिक दलहरूले माहौल तयार नगर्नु दुर्भाग्यको कुरो हो। के पहाड़का राजनैतिक दल, संघ-संस्था अनि जन प्रतिनिधिहरूलाई चुनावको समयमा मात्रै गोर्खाल्याण्ड चाहिने हो? के गोर्खाल्याण्ड उनीहरूको चुनावी मुद्दामात्रै हो? के गोर्खाल्याण्डको निम्ति उनीहरूको समर्पण, कार्यक्रम अनि रणनीति केवल भोटको समयमा मात्रै तयार हुन्छ त? तथाकथित गोर्खाल्याण्डप्रेमी नेताहरूको निष्क्रियताले अहिले यस प्रकारको प्रश्नहरू उब्जाइरहेको छ।
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले गोर्खाल्याण्डको नाममा राजनीति गर्दैनौं भनेर अगावै भनिसकेका छन्। गोर्खाल्याण्ड आन्दोलनको नाममा जनताले पाएको दुःख अनि राजनैतिक नेताहरूको कालाबजारीलाई हेरेर हामीले यो निर्णय लिएका हौं। हामी पहाड़मा विकासको माध्यमले जनतालाई सशक्त अनि व्यवस्थित बनाउने दिशामा लागिपरेका छौं। तर गोर्खाल्याण्डको चाहना हाम्रो छात्तीमा पनि गाड़िएको छ। यसैले गोर्खाल्याण्ड मुद्दाको जिम्मेवारी लिएका राजनैतिक दलहरूले आगँनमै प्रधानमन्त्री आइपुगेको यो महत्वपूर्ण घड़ीमा केही रणनीति र माहौल तयार पार्नेछ भन्ने हामीलाई पनि आशा लागेको थियो। तर गोर्खाल्याण्डपन्थी राजनैतिक दल अनि जन प्रतिनिधिहरूको मौनता र निष्क्रियताले हामी पनि निराश बनेका छौं। गोर्खाल्याण्डप्रेमी जनताको निम्ति यो ठूलो धोका अनि दुर्भाग्य हो भन्ने हामीलाई लागेको छ।
हिजोसम्म हामीलाई गोर्खाल्याण्ड आन्दोलन बिथोलेको, शहीदलाई धोका दिएको जस्तो गम्भीर आरोपहरू लगाउने राजनैतिक दलका नेता, तथाकथित सघं-संस्थाका प्रतिनिधिहरू आज यति महत्वपूर्ण घड़ीमा निष्क्रिय अनि मौन हुनु गोर्खाल्याण्डप्रेमी जनतासित धोका होइन? जनतासित गद्दारी होइन?
जनताले अब सोच्नुपर्ने समय आएको छ। सठीक समयमा अथवा आवश्यक समयमा जहिल्यै पनि खेलबाट बाहिर बस्ने खेलाड़ीहरूद्वारा खेल जितिन्न । भाषणमा होइन तर कर्ममा विश्वास गर्ने नेताको पहाड़लाई खाँचो छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement