गान्तोक: भारत सरकारको कृषि तथा कृषक कल्याण मन्त्रालयको भारतीय कृषि अनुसन्धान परिषदसँगको ध्वजवाहक कार्यक्रम रहेको विकसित कृषि सङ्कल्प अभियान पाकिम जिल्लाअन्तर्गत लिङताम-फदम्चेन गाउँमा २९ मईको दिन सफलतापूर्वक शुरुवात गरियो। केन्द्रिय कृषि मन्त्री शिवराजसिंह चौहानद्वारा घोषणा गरिएको राष्ट्रव्यापी १२ दिने पहल दिगो खेती विधि, हालैका सरकारी योजनाहरू तथा आधुनिक कृषि प्रविधि लगायत देशव्यापी खरिफ मौसमअघिको अभियानको अंशका रूपमा देशभरिका ७०० जिल्लाका १ देखि १.५ करोड कृषकहरूलाई शिक्षित बनाउन लक्षित रहेको छ। भारतीय कृषिलाई उत्पादनमा वृद्धि, अभिनव खेती समाधानको अङ्गीकरणलाई प्रोत्साहनका साथमा वर्ष २०४७ सम्म विकसित भारतको यात्रामा कृषकहरूलाई सक्रिय सहभागी बनाउन पनि भीकेएसए लक्षित रहेको छ। पाकिम जिल्लाअन्तर्गत रेशम मार्गमा पर्ने लिङताम-फदम्चेन गाउँलाई कृषिमा जीवन्तता ल्याउने ध्येयका साथ चयन गरिएको हो। यस कार्यक्रममा १२० जना कृषक सहभागी थिए। दोस्रो अभियान प्रेमलाखा-सुबाने डाँडामा आयोजित गरियो। कार्यक्रमको नेतृत्त्व आइसीएआर-केभीके, पूर्व सिक्किमका वरिष्ठ वैज्ञानिक डा. प्रकाश शर्माले गरेका थिए भने टोलीमा सिक्किम सरकारको कृषि विभागका अतिरिक्त निर्देश तथा अभियानका लागि राज्यका शीर्ष अधिकारी डा. प्रताप सुब्बा, बागवानी विभागकी उपनिर्देशक तथा अभियानकी जिल्ला संयोजिका हिस्सेछिडे भोटिया, आइसीएआर-एनआरसीओका वैज्ञानिक डा. निखिल वागदेवी, बागवानी विकास अधिकारी कर्मपिन्छो लेप्चा, कृषि विकास अधिकारी पासाङ शेर्पा, मत्स्यपालन विभागकी सहायक निर्देशक गौरी मुखिया तथा पशुपालन विभागकी उपनिर्देशक डा. प्रेरणा बराइली पनि सामेल थिए। कार्यक्रममा आइसीएआर-एनआरसीओ, पाकिमका निर्देशक डा. एसपी दास मुख्य अतिथि थिए। टोलीद्वारा दिगो एवं जलवायु अनुकूलित खेती विधि, बागवानी विविधिकरण, एकिकृत पशुपालन एवं मत्स्यपालन प्रणाली, फसल कटाइपछिको प्रबन्धन तथा पीएम-किसान, माटोको स्वास्थ्य कार्ड, किसान क्रेडिट कार्ड र कृषि पूर्वाधार निधि जस्ता विविध केन्द्र प्रायोजित कृषि योजनाबारे कृषकहरूबारे जानकारी दिइयो। वैज्ञानिकतम खेती गर्नुको महत्त्व, बजारसम्म पुऱ्याउन डिजिटल मञ्च तथा ग्रामीण उद्यमको विकासमा महिला अनि युवाहरूको भूमिकाको महत्त्वबारे पनि जानकारी दिए। विभागीय योजना, खेत-बारीमा प्रदर्शनी तथा प्रशिक्षण कार्यक्रमद्वारा कृषकहरूलाई उब्जनी अनि आमदानी बढाउन आवश्यक संसाधन र ज्ञान प्रदान गर्ने दिशामा निरन्तर सहयोग प्रदान गरिने आश्वासन दिए।