खरसाङ: खरसाङकी वरिष्ठ साहित्यकार एंव गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी अध्यक्षा आशा मुखिया लामालाई हालैमा पीएचडी (डक्टरेट)को मानार्थ उपाधिले सम्मानित भएकीमा २८ नम्बर खरसाङ चिमनी देवराली समष्टिको तर्फबाट अभिनन्दन जनाइएको छ। केही दिन अघि उनलाई दक्षिण सिक्किमको नाम्चीस्थित डिभाइन थियोलोजिकल ओपेन युनिभर्सिटीको तर्फबाट साहित्य र संस्कृतिको क्षेत्रमा लगातार रुपमा सेवा पुराएकोमा मानार्थ विधावारिधि (डक्टरेट) को उपाधिले सम्मानित गरिएको थियो। उनको यस उपलब्धिको लागि २८ नम्बर खरसाङ चिमनी देवराली समष्टिको तर्फबाट खदार्पणसहित अभिनन्दन पत्र प्रदान गरेर अभिनन्दन जनाइएको छ। यस अवसरमा उनको अभिनन्दन पत्रको पठन नारी शक्ति खरसाङ महकुमा समितिको सचिव जैतुन निशा खातुनले गरेकी थिइन् भने भागोप्रमो केन्द्रीय सदस्य एंव खरसाङ नगरपालिकाकोे पूर्व चेयरम्यान समीरदिप ब्लोनको बाहुलीबाट अभिनन्दन पत्र प्रदान गरेर अभिनन्दित गरिएको छ। उनीसितै खरसाङ निवासी प्रकाश प्रधान र गोमा सुब्बाकी सुपुत्री आस्थाश्री प्रधानलाई पनि सम्मान जनाइएको छ। उनले आईसीएसईमा ९७ प्रतिशत अंक ल्याएर उत्तीर्ण भएकी थिइन्। यस अवसरमा उनलाई खदार्पणसहित स्मृति चिन्ह प्रदान गरेर सम्मान गरिएको छ।

यस अवसरमा स्रष्टा आशा मुखिया लामाले आफ्नो सम्बोधनमा आफुले लामो समयदेखि साहित्य र संस्कृतिको क्षेत्रमा गरिरहेको कामलाई सम्मान गर्दै मानार्थ विधावारिधि प्रदान गरिएको छ। उनले उक्त सम्मान आफ्नो मात्रै नभएर सम्पूर्ण खरसाङवासीको सम्मान हो भनी बताएकी छन्। उक्त सम्मान विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ चिमनी देवराली समष्टिको सभासद श्याम शेर्पाले विस्तृत रुपमा जानकारी गराएका छन्।