गान्तोक: प्रधानमन्त्री नरेन्द्र मोदीको सिक्किम भ्रमणको तयारीलाई लिएर मुख्यमन्त्री प्रेमसिंह तामाङले दुईपल्ट पाल्जोर स्टेडियमको भ्रमण गरिसकेका छन्। सिक्किम राज्य स्थापनाको ५०औं वर्षागाँठ समारोहको अवसरमा सहभागी बन्न देशका प्रधानमन्त्री नरेन्द्र मोदी भोलि बिहिबार सिक्किम आउने तय भइसकेको छ। उनको भ्रमणको क्रममा राजधानीस्थित पाल्जोर स्टेडियममा एक भव्य कार्यक्रम आयोजन गरिने भएको छ। उक्त कार्यक्रमको तयारीलाई लिएर आज मुख्यमन्त्री तामाङले कार्यक्रमस्थलको निरीक्षण गरे। विशेष गरेर आज कार्यक्रम स्थलको तयारीलाई लिएर उनको अन्तिम भ्रमण हो। प्रधानमन्त्रीको भ्रमणलाई ऐतिहासिकरूपमा सफल बनाउन सबैको सामुहिक जिम्मेवारी रहने उनले बताएका छन्। भ्रमणको कार्यक्रमलाई भव्यताका साथ सफल पार्न सम्बन्धित विभागका अधिकारीहरूलाई आवश्यक निर्देश दिएका छन्। उल्लेख्य छ, प्रधानमन्त्री मोदीले भोलि पाल्जोर स्टेडियमबाट नाम्ची जिल्लामा निर्मित पाँचसय पलङयुक्त जिल्ला अस्पताल, पाकिम जिल्लाको मामरिङमा रहेको गौशाला, गेजिङ जिल्ला अन्तर्गत पेलिङको साङ्गा छोईलिङ यात्रीवाहक घिर्लिङ र गान्तोक जिल्ला अन्तर्गत साङखोलाको अटल अमृत उद्यान, भारत रत्न अटलबिहारी वाजपेयीको सालीग लगायतका विविध विकास परियोजनाको शिलान्यास एवं उद्घाटन गर्ने योजना रहेको छ। सोही प्रकारले प्रधानमन्त्रीले सिक्किम राज्य स्थापनाको गौरवमय ५०औं वर्षको अवसरमा सिक्किमसम्बन्धी सिक्काको पनि लोकार्पण गर्ने कार्यक्रम रहेको छ। निरीक्षणको क्रममा मुख्यमन्त्रीको साथमा मन्त्रीमण्डलका सदस्यहरू, विधायकगण, मुख्यमन्त्रीका राजनैतिक सचिवद्वय, मुख्य सचिव, मुख्य प्रशासक, पुलिस महानिर्देशक लगायत अन्य अधिकारीहरू पनि सामेल थिए।