च्याम्पियन्स लीगः म्यानचेष्टर सिटी, पीएसजी र रियल म्याड्रिडले जिते पनि युभेण्टसको हार

IMG-20220915-WA0129.jpg

१५ सेप्टेम्बरः यूएफा च्याम्पियन्स लीगमा बुधवार राति पेरिस सेण्ट जर्मेन, म्यानचेष्टर सिटी, रियल म्याड्रिड र एसी मिलानले आ-आफ्नो म्याच जित्यो। यसबीच युभेण्टस हारको सम्मुखीन भयो भने चेल्सी चाहिँ ड्र-मा अल्झियो। पेरिस सेण्ट जर्मेन (पीएसजी)-ले इज्रायलको क्लब माक्काबी हाइफा विरुद्ध ३-१-ले जीत हासिल गऱ्यो।

आफ्नो होम ग्राउण्डमा ४३ प्रतिशत पोजेशनको साथ खेल्ने इज्रायलको क्लबले २४औं मिनटमा बढ़त हासिल गऱ्यो। माक्काबी हाइफाबाट टारोन चेरीले गोल गरे। त्यसपछि पीएसजी-ले पनि चाँड़ै बराबरी हासिल गऱ्यो। स्टार स्ट्राईकर लियोनल मेस्सीले ३७औं मिनटमा गोल गरी स्कोर १-१-को बराबरीमा पुऱ्याए। त्यसपछि कीलियन एम्बाप्पेले ६९औं अनि नेमारले ८८औं मिनटमा लगातार दुई गोल थपेर पीएसजी-लाई ३-१-ले जीत दिलाए। यसै ग्रुपको अन्य एउटा म्याचमा पोर्तुगलको क्लब बेनफिकाले युभेण्टसलाई २-१-ले पराजित गऱ्यो।

इटलीको अग्रणी क्लब युभेण्टसको यो लगातार दोस्रो हार हो। युभेण्टसको होम ग्राउण्डमा ५७ प्रतिशत पोजेशनको साथ खेल्ने बेनफिकाबाट जोआओ मारिओले ४३औं (पेनल्टी) अनि डेविड नेरेसले ५५औं मिनटमा गोल गरे। यसरी नै युभेण्टसबाट अर्काडिउज मिलिकले चौथो मिनटमा गोल गरे। यस ग्रुपमा गोल अन्तरको आधारमा पीएसजी पहिलो अनि बेनफिका दोस्रो स्थानमा रहेको छ। यी दुवै टीमसँग ६-६ पोइण्ट रहेको छ।

यसरी नै ग्रुप एफ-मा रियल म्याड्रिडले आरबी लिपजिगलाई २-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड सेण्टियागो बर्नब्यू स्टेडियममा ५३ प्रतिशत पोजेशनको साथ खेल्ने रियल म्याड्रिडबाट फेडेरिको भाल्भर्देले ८०औं र मार्को असेन्सिओले स्टपेज टाइमको पहिलो मिनटमा गोल गरे। यस ग्रुपमा शाख्तर डोनेस्क र सेल्टिकबीच खेलिएको म्याच चाहिँ १-१-ले ड्र रह्यो। ग्रुप एफ-मा रियल म्याड्रिड २ वटा म्याचमा ६ पोइण्टको साथ शीर्ष स्थानमा रहेको छ। यसरी नै दोस्रो स्थानमा रहने शाख्तर डोनेस्कसँग ४ पोइण्ट रहेको छ। यसबाहेक ग्रुप ई-मा एसी मिलानले डिनामो जाग्रेबलाई ३-१-ले पराजित गऱ्यो।

आफ्नो होम ग्राउण्ड सान सिरोमा ५७ प्रतिशत पोजेशनको साथ खेल्ने एसी मिलानबाट ओलिविएर गिरोडले ४५औं मिनटमा पेनल्टीबाट गोल गरे। त्यसपछि एलेक्सिस सेलेमेकर्सले ४७औं र टोम्मासो पोबेगाले ७७औं मिनटमा गोल गरे। यसरी नै डिनामो जाग्रेबबाट मिस्लाव ओलसिचले ५६औं मिनटमा गोल गरे। यसै ग्रुपको अन्य एउटा म्याचमा चेल्सीलाई आरबी साल्जबर्गले १-१-को ड्र-मा रोक्यो। म्याचमा चेल्सीबाट रहीम स्टर्लिंगले ४८औं मिनटमा गोल गरे। यसरी नै साल्जबर्गबाट नोआह ओकाफोरले ७५औं मिनटमा गोल गरे। ग्रुप ई-मा एसी मिलान ४ पोइण्टको साथ शीर्ष स्थानमा रहेको छ। यसरी नै डिनामो जाग्रेब ३ पोइण्टको साथ दोस्रो स्थानमा रहेको छ। चेल्सी केवल १ पोइण्टको साथ फेदमा रहेको छ।

यसबीच ग्रुप जी-मा म्यानचेष्टर सिटीले बोरुसिया डर्टमण्डलाई २-१-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड एतिहाद स्टेडियममा ६६ प्रतिशत पोजेशनको साथ खेल्ने म्यानचेष्टर सिटी म्याचमा लगभग अन्तसम्म १ गोलले पछाड़िएको थियो। जुडे बेलिंगहमले ५६औं मिनटमा डर्टमण्डलाई बढ़त दिलाए। त्यसपछि जन स्टोन्सले ८०औं मिनटमा सिटीलाई १-१-को बराबरीमा पुऱ्याए। अन्तमा डर्टमण्डकै पूर्व फूटबलर एर्लिंग हालाण्डले ८४औं मिनटमा गोल गरी सिटीलाई जीत दिलाए। यस ग्रुपमा एफसी कोपेनहेगन र सेविलेबीच खेलिएको म्याच चाहिँ गोलरहित (०-०) ड्र-मा समाप्त भयो। ग्रुप जी-मा सिटी ६ पोइण्टको साथ शीर्ष स्थानमा रहेको छ। यसरी नै दोस्रो स्थानमा रहने डर्टमण्डसँग ३ पोइण्ट रहेको छ। ग्रुप ए-मा दशजना खेलाड़ीमा सीमित रेञ्जर्स विरुद्ध इटलीको क्लब नापोलीले ३-०-ले जीत दर्ता गऱ्यो। यस जीतको साथै नापोली ६ पोइण्ट लिएर ग्रुपको शीर्ष स्थानमा पुग्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement