खरसाङ नगरपालिकाको विभिन्न समस्याहरु र मुद्दाहरुमाथि अनित थापा, स्थानीय प्रशासन र खरसाङ नगरपालिकामाझ बैठक सम्पन्न

IMG-20250528-WA0232

खरसाङ: खरसाङ नगरपालिकाको विभिन्न समस्याहरु र मुद्दाहरुमाथि चर्चा गर्नलाई गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा र खरसाङ नगरपालिकाको बोर्ड अफ् एडमिनिष्ट्रेशनमाझ बैठक सम्पन्न भएको छ। उक्त बैठकमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा, खरसाङ महकुमा शासक आईएएस बिन्दबासिनी तेजा दिपक, खरसाङ नगरपालिकाको बोर्ड अफ् एडमिनिष्ट्रेशनको चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान लगायत सम्बन्धित अधिकारीहरु अनि सभासदको उपस्थिति रहेको थियो। उक्त बैठकमा बैठकमा खरसाङ नगरपालिकाको विभिन्न समस्याहरु र कार्यहरु विषयमा चर्चा अनि निणर्य लिइएको जानकारी प्राप्त भएको छ।यस बैठकमा विशेष गरेर मनसुनको तयारी र आपदा व्यवस्थापन विषयमा चर्चा गरिएको जानकारी प्राप्त भएको छ। यस अन्तर्गत आगामी वर्षालाई ध्यानमा राखेर नगरपालिकाले मनसुन सेल (डिजास्टर म्यानेजमेन्ट टिम) गठन गरेको छ। वर्षाको कारण उत्पन्न हुने सबै प्रकारका समस्याहरू समाधान गर्न अनि समस्याहरूको मनिटरिङ गर्न समर्पित सहयोग केन्द्र स्थापना गर्ने निर्णय गरिएको छ। यसमा खरसाङ नगरपालिकाले सबै नालीहरू, झोडाहरू निरन्तर सफा गरिरहेको बताइएको छ।
बैठकमा स्वास्थ्य सेवामा विस्तार विषयमा चर्चा गर्दै राष्ट्रिय शहरी स्वास्थ्य मिशन (नेशनल अरवन हेल्थ मिशन) योजना अन्तर्गत नयाँ शहरी प्राथमिक स्वास्थ्य केन्द्र (नयाँ अरवन प्राईमेरी हेल्थ सेन्टर) योजना पहिले नै स्वीकृत भइसकेको छ। यो काम चाँढै वार्ड नम्बर १३ मा शुरु हुने भएको छ। यो योजनाले खरसाङ महकुमा अस्पतालमाथि आउने भारलाई केही हदसम्म घटाउने अपेक्षा गरिएको छ। उक्त बैठकमा जीटीए प्रमुख अनित थापाको निर्देशनमा कट्लेरीमा एउटा नयाँ स्वास्थ्य केन्द्र स्थापना हुनेछ। यसले न केवल शहरी जनताको तर ग्रामीण क्षेत्रको आवश्यकतालाई पनि पूरा गर्नेछ।
बैठकमा जीटीए प्रमुख अनित थापाले स्वास्थ्य विभागलाई आशा कर्मचारीहरुको संख्या १८ बाट २८ सम्म बढाउन निर्देशन दिएका छन्। यसको साथै बैठकमा नगरपालिका इञ्जिनियरिङ प्रभाग अन्तर्गत अमरुत योजना स्वीकृत भइसकेको जानकारी गराइएको छ। त्यसरी नै नयाँ जल उपचार संयन्त्र बस टर्मिनल नजिकै बन्ने भएको छ। यसको साथै थापाले एमईडीलाई यस हप्ताभित्र नै पुरानो पानीको ट्याङ्कीहरूको मैला सफा गर्न र रखरखाव गर्न निर्देशन दिएका छन्। यस बैठकमा हाउजिङ फर अल परियोजना विषयमा चर्चा गर्दै जीटीए प्रमुख अनित थापाले
हाउजिङ फर अल योजनाका लाभार्थीहरूको जियो ट्यागिङ गर्ने कार्य आगामी १५ दिन भित्रमा गरिसक्नु पर्ने निर्देशन दिएका छन्। उनले भने, त्यसपछि नियमानुसार लाभार्थीहरुले पाउने सहुलियत पाउनेछन्। यो समस्या साह्रै लम्बिएर गएको छ। लाभार्थीहरुले घर पाउनु उनीहरूको हक अनि अधिकार हो। यसको चाँडोभन्दा चाँडो हल हुनु पर्नेछ। टेक्निकल समस्या देखाएर मात्र मानिसको समस्या समाधान हुँदैन।’
बैठकमा उद्यान र स्काईवाक्स निर्माण विषयमा पनि चर्चा गरिएको छ। यस अन्तर्गत खरसाङ नगरपालिका क्षेत्रमा वृद्धजन र युवाहरूका लागि उद्यान, स्काईवाक्स र अन्य सुविधाका पहलहरु चाँडै नै गरिने भएको छ। यसको साथै खरसाङ नगरपालिकाको अवकाशप्राप्त कर्मचारीहरुको पेन्सन समस्या विषयमा चर्चा परिचर्चा गरिएको छ। यस विषयमा जीटीए प्रमुख अनित थापाले बैठकमा जानकारी दिँदै भने, अवकाशप्राप्त नगरपालिकाका कर्मचारीहरुको रोकिएको पेन्सनको समस्या खरसाङ नगरपालिकाको मात्र नभएर सम्पूर्ण राज्यको समस्या हो। भूतपूर्व कर्मचारीहरुले आफ्नो पसिना बगाएको रकम हराउने दिनेछैन। उनीहरूले न्याय पाउनेछन्।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement