गान्तोक: कञ्चनजङ्घा पर्वतको आरोहणलाई लिएर जताततै विरोध हुन थालेपछि सिक्किम सरकारले आफ्नो स्पष्टीकरण दिएको छ।
सरकारले कञ्चनजङ्घा आरोहण सिक्किमबाट नभएको स्पष्ट गरेको छ।
कञ्चनजङ्घा आरोहणको निम्ति भारत सरकारले पनिि अनुमति नदिएको सरकारले दाबी गरेको छ। कञ्चनजङ्घा आरोहण पूर्ण रूपमा नेपालपट्टिबाट भएको सरकारले स्पष्टीकरण दिइएको छ।
उल्लेखनीय छ, हालैमा कञ्चनजङ्घा पर्वतको आरोहण गरिएको समाचार प्रकाशमा आएपछि सिक्किममा राजनीतिक पार्टीहरू लगायत विभिन्न संघ संस्थाले यसको विरोध गरिरहेको छ। संघ संस्थाहरूले सिक्किम सरकार कञ्चनजङ्घा पर्वतको आरोहण रोक्न विफल बनेको आरोप लगाएका छन्। भविष्यमा कञ्चनजङ्घा पर्वतमा आरोहण हुन नदिन संघ संस्थाहरूले सरकारलाई आवश्यक पाइला चाल्न माग गरेका छन्।
सिक्किम सरकारको पर्यटन एवं नागरिक उड्डयन विभाग मन्त्री टीटी भोटियाले सिक्किमबाट कञ्चनजङ्घा पर्वतको आरोहण भयो भन्ने आरोप निराधार रहेको स्पष्ट गरेका छन्। उनले आज मिडियाकर्मीहरूसॅंग कुराकानी गर्दै कञ्चनजङ्घा पर्वतको निम्ति सिक्किमबाट कुनै पनि प्रकारको अभियान भएको छैन भनी बताए।
उनले कञ्चनजङ्घा पर्वतलाई सिक्किमको पवित्र हिम शिखरहरूको सूचीमा सूचीबद्ध गरिएको छ भने पवित्र कञ्चनजङ्घा पर्वतको सम्मानमा हरेक वर्ष पाङल्हाब सोल पर्व पनि मनाइन्छ भनी बताए। यस कारण सरकारले यस्तो कार्य भूलेर पनि गर्नेछैन भन्दै उनले अफवाह फैलाउने काम भइरहेको बताए।
मन्त्री भोटियाले कञ्चनजङ्घा पर्वतको आरोहणको खबर प्रकाशमा आउने बित्तिकै मुख्यमन्त्री प्रेमसिंत तामाङले केन्द्रिय गृह मन्त्रालयमा पत्राचार गरेर यो मुद्दा उठाएको जानकारी गराए। मुख्यमन्त्रीले आफ्नो पत्रमा सिक्किमको पवित्र कञ्चनजङ्घा पर्वतमाथि आरोहण हुनु हुॅंदैन भनेर उल्लेख गरेको उनले बताए। उनले केन्द्रिय गृह मन्त्रालयले पनि यस सम्बन्धमा नेपाल सरकारलाई पत्राचार गरेर आरोहणको कुरा उठाएको आफूहरूले थाहा पाएको बताए।
यसैगरी, राज्य वन तथा पर्यावरण विभाग मन्त्री पिन्चो नामग्याल लेप्चाले पहिले पनि अज्ञानतावश सिक्किमका हिम शिखरहरूमा आरोहणको अनुमति प्रदान गरिएको थियो, तर सिक्किम सरकारले तत्काल पत्राचार गरेपछि केन्द्र सरकारले आफ्नो निर्णय फिर्ता लिएको जानकारी गराए।
उनले यसपाली कञ्चनजङ्घा पर्वतको आरोहण पूर्ण रूपमा नेपालपट्टिबाट भएको स्पष्ट गरे। उनले कञ्चनजङ्घा पर्वतको आरोहणको निम्ति सिक्किम सरकारले अनुमति दिने कुनै आउॅंदैन भने भारत सरकारले पनि अनुमति नदिएको दाबी गरे। उनले कञ्चनजङ्घा पर्वत हाम्रो निम्ति पनि उतिकै पवित्र हो भन्दै सरकारले आफ्नो जिम्मावारी पूरा गरिरहेको बताएका छन्।