गान्तोक: सिक्किम राज्य स्थापनाको ५०औं बर्षगाँठ महोत्सवको अवसरमा आगामी २९ मईका दिन हुने देशका प्रधानमन्त्री नरेन्द्र मोदीको सिक्किम भ्रमणलाई मध्यनजरमा राख्दै विविध तयारी कार्यहरू भइरहेका छन्। यस कार्यक्रमअन्तर्गत आज साँझ राजधानी गान्तोकको टाँसी नाम्ग्याल एकाडेमी स्कुलको खेल मैदानमा एकैचोटी पाँचसय ड्रोनको परीक्षण सफलतापुर्वक सम्पन्न भएको छ। एकैचोटि पाँचसय ड्रोनको यो परिक्षणको दृश्य हेर्न राजधानीबासी ओइरो लागेका थिए। यो अद्भुत दृष्यलाई नजिकबाट हेर्न धेरै मानिसहरू टीएनए खेल मैदानमा पुगेका थिए। सिक्किम सरकारका मुख्यमन्त्रीका राजनैतिक सचिव विकास बस्नेत, एसकेएम पार्टी कार्यकर्ताहरु एवं विध्यार्थीहरूले यो रमणीय दृश्यको अवलोकन गरेका थिए। रिहर्सलको क्रममा ड्रोनमार्फत सिक्किमको विविध पारम्परिक झलकहरू प्रस्तुत गरिएको थियो। देशका प्रधानमन्त्री नरेन्द्र मोदी एवं सिक्किम सरकारका मुख्यमन्त्री प्रेमसिंह तामाङको तस्बीर लगायत सिक्किम सरकारको शिशु समृद्वि योजना, मेरो रूख मेरो सन्तति योजना र सिक्किमका विविध जैवविविधता आदिका दृश्यहरू प्रस्तुत गरिएको थियो। पँचसय ड्रोनको पूर्ण प्रदर्शनी आगामी २९ मईमा आयोजन हुने बताइएको छ।