खरसाङ: भारतीय नेपाली साहित्यको वरिष्ठ साहित्यकार एंव नियात्राकार सलोन कार्थकलाई नेपालको काठमाडौंमा प्रदिक ढकाल नियात्रा सौरभ पुरस्कार प्रदान गरिएको छ। पर्वतीय साहित्य समाज काठमाण्डौंको जयन्ता पवित्र ढकाल स्मृति कोषद्वारा प्रत्येक वर्ष नियात्रा विधाका कीर्तीमानी स्रष्टाहरुलाई प्रदान पुरस्कृत गर्दै आएको प्रतिक ढकाल नियात्रा सौरभ पुरस्कार २०८२ नियात्रा साहित्यको विकासमा निरन्तर समर्पित स्रष्टा सलोन कार्थकलाई मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच प्रदान गरिएको छ। उक्त पुरस्कारमा उनलाई खदार्पणसहित शल ओढाएर साथै टोपी पहिराएर अनि सम्बर्ध्दना पत्र र स्मृति चिन्ह लगायत नगदराशि नेपाली रुपियाँ ५१ हजार प्रदान गरिएको छ। उक्त प्रतिक ढकाल नियात्रा सौरभ पुरस्कार भारतीय नेपाली साहित्यको साहित्यकारको रुपमा सलोन कार्थकलाई प्रथमपल्ट प्रदान गरिएको छ। उनले विगत धेरै वर्षदेखि निरन्तर रुपमा नियात्रा विधामा कलम चलाउँदै धेरैवटा नियात्रा संग्रहहरु प्रकाशित गरिसकेकाले उनलाई उक्त पुरस्कार प्रदान गरिएको छ। उक्त प्रतिक ढकाल नियात्रा सौरभ पुरस्कार ३०८२ को लागि स्रष्टा सलोन कार्थकले आयोजक समितिलाई धन्यवाद दिन्दै यस पुरस्कारले खुशी लागेको बताएका छन्। उनले भारतीय लेखकलाई पनि स्वीकारेर साथै मान्यता दिएर यसरी पुरस्कार प्रदान गरेकोमा खुशी व्यक्त गर्दै नियात्रा साहित्यसित एउटा सम्बन्ध जोडिएको पनि बताएका छन्।

भारतीय नेपाली साहित्यको वरिष्ठ साहित्यकार सलोन कार्थकले लामो समयदेखि नियात्रा विधामा कलम चलाउँदै आईरहेका छन्। उनको नियात्रा संग्रहहरु क्रमैले -‘समुद्रपारि (यात्रा संस्मरण)-१९७६, पदयात्रा गाउँको फन्को विदेशको (नियात्रा) २०००, विश्व एउटा पल्लो गाउँ (नियात्रा) २०१३ र गोलार्ध्द घुमाईका रङ्हरु(नियात्रा) २०१७ आदि प्रकाशित छन्। उनको नियात्रा संग्रह ‘विश्व एउटा पल्लो गाउँ’ ले वर्ष २०१७ को साहित्य अकादमी पुरस्कार प्राप्त गरेका थिए। नियात्राबाहेक पनि हस्तान्तरण (कथा सङ्ग्रह) १९९६, पादरी गंगाप्रसाद प्रधानको जीवन बखान (जीवनी) २००१ र पादरी गंगाप्रसाद प्रधानको उपलब्धि र रचनावली (संकलन) २००७ प्रकाशित छन्। साहित्यकार सलोन कार्थकले १९९२ मा स्रष्टा पुरस्कार, २०११ मा पारसमणि प्रधान स्मृति पुरस्कार, २०१७ मा साहित्य अकादमी पुरस्कार पनि अघिबाटै प्राप्त गरिसकेका छन्।