आज गोर्खाल्याण्डको निम्ति जेल गएको पनि १२ वर्ष पुगेछ तर न त गोर्खाल्याण्ड भयो, न त केस टाउकोदेखि हट्नु नै सक्यो: अनित थापा

IMG-20250527-WA0265

खरसाङ: आज गोर्खाल्याण्डको निम्ति जेल गएको पनि १२ वर्ष पुगेछ। न त गोर्खाल्याण्ड भयो, न त केस टाउकोदेखि हट्नु नै सक्यो भनी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल एंव भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको संस्थापक अध्यक्ष अनित थापाले बताएका छन्‌। उनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भने, ‘१२ वर्ष अघिको आन्दोलनकारी हुँदा खाएको केसमा आज खरसाङ अदालतमा हाजिरी दिनु जानु पर्यो। सोच्दैछु, होश पुर्याएर चलाएको आन्दोलनले मात्र हामीलाई गन्तव्यमा पुर्याउँछ। नत्र भने यसरी म जस्तै धेरै आन्दोलनकारीहरूले कोर्ट धाउनु परिरहन्छ।’
उनले प्रेस विज्ञप्तिमा‌ भनेका छन्, ‘५ अगस्त, २०१३ मा‌ म खरसाङ घरमा थिए। विमल गुरूङ ज्यूको नेतृत्वमा गोर्खाल्याण्डको दोस्रो चरणको आन्दोलन चलिरहेको थियो। म खरसाङको सभासद थिए। बिहानपख खाजा खाई मात्र सकेको थिए अचानक पुलिसको एउटा टोली घरमा हुरुरु आयो।


‘अनित जी आप का अरेस्ट वारंट।” पुलिस अफिसरले कागज देखाए। आन्दोलन समय जीटीएको पहिलो सभासद पक्राउ परेको प्रथम घटना थियो त्यो दिन। म गोर्खाल्याण्ड कै निम्ति जेल गए। सात महिना राजनैतिक बन्दी भएर जेलको चार पर्खालभित्र बिताए।’
उनले अघि भनेका छन्, “आज खरसाङ अदालत परिसरमा २०१३ को केस लिएर हाजिरी दिनु पुग्दा त्यो दिनहरूको याद झल्झली आयो। २०१३ -१४ मा खरसाङ क्षेत्रका हामी २८ जनालाई पक्राउ गरेको थियो। दुईजना त बितेर पनि जानु भयो।
गोर्खाल्याण्डको मांग गर्दै थालिएको आन्दोलनमा हामीले आफ्नो सर्वस्व दिएका थियौँ। आज म जेल बन्दी भएको पनि १२ वर्ष पुगेछ। न त गोर्खाल्याण्ड भयो, न त केस टाउकोदेखि हट्नु नै सक्यो।’


अनित थापाले अझ भने, ‘माटो हामीलाई चाहिन्छ। चिन्हारीको खोजमा आज पनि हामी उकुसमुकुस नै छौं। तर के जेल नेल खाएर, कुटाई खाएर हाम्रो अधिकार हामीलाई प्राप्त हुन्छ? आन्दोलन बौद्धिक हुनुपर्छ। आन्दोलन समावेशी हुनुपर्छ। आन्दोलनको गन्तव्य, भविष्य अनि रणनीति हुनुपर्छ। आक्रोश अनि जोशले मात्र आन्दोलन निर्धारित गरिँदैन। होश पुर्याएर चलाएको आन्दोलनले मात्र हामीलाई गन्तव्यमा पुर्याउँछ। नत्र भने यसरी म जस्तै धेरै आन्दोलनकारीहरूले कोर्ट धाउनु परिरहन्छ।’

About Author

Advertisement