के नारी सशक्त छन् त? (भाग २)

00-Sati-1A-1

अठाह्रौं शताब्दीको मध्यपछि नारी:

अठाह्रौं शताब्दीको मध्यतिर व्यापारीको रूपमा भारतमा प्रवेश गरेका अङ्ग्रेजहरूले बीसौं शताब्दीको मध्यसम्म शासन गरे। यस अवधिमा भारतेली समाजको सामाजिक र आर्थिक ढाँचामा आमुल परिवर्तन आयो। विधवा पुनः विवाहलाई प्रोत्साहित गर्दै कानुनी रूप दिइयो। यसै अवधिमा सती प्रथा, बाल विवाह र अरू सामाजिक कुप्रथा बन्द भए। तथापि ब्रिटिशकालको पूर्वार्धमा सती अनुष्ठानका बेला प्रान्तिय सरकारका प्रतिनिधिको विशेष उपस्थितिबाट यस प्रथाप्रति प्रारम्भिक चरणमा अङ्ग्रेजहरूको स्वीकृति स्पष्ट देखिन्छ। महिलाहरूका कल्याणार्थ उत्तर भारतमा आर्य समाज, बङ्गालमा ब्रह्मो समाज र इसाई मिसनरीले खेलेका भूमिका ऐतिहासिक रहेका छन्। सामाजिक सुधारकहरूले नारीको स्थितिमा सुधार ल्याउने धेरै प्रयास गरे। यी सुधारकहरूमा राजा राममोहन राय, ईश्वरचन्द्र विद्यासागर, भीमराव अम्बेदकर, केशवचन्द्र सेन, एनी बेसेन्ट, सिस्टर निवेदिता, दयानन्द सरस्वती, विवेकानन्द, महात्मा गान्धीजस्ता व्यक्तित्वको नाउँ लिनसकिन्छ। राजा राममोहन रायले सती प्रथाका विरूद्ध घोर संघर्ष गरे। राजा राममोहन विदेश गएका बेला दाज्यूको मृत्यु हुँदा उनकी भाउज्यूले सती प्रथाको नाममा दाज्यूको चितामा आत्मदाह गर्न परेको थियो। पछि यो कुरो सुनेपछि राजा राममोहन मर्माहत भएर यस प्रथालाई बन्द गरिछाड्ने अठोट गर्छन्।

भारतका पहिलो महिला शिक्षक मानिने समाज सुधारक तथा शिक्षाविद् सावित्रीबाई फूले नै हुन् जसले पूणेमा भारतको पहिलो कन्या पाठशाला खोलेकी थिइन्। उनले लिङ्गभेद र जातिवादका विरूद्ध धेरै संघर्ष गरिन्

फलस्वरूप सन् १८२९-तिर सती प्रथा पूर्णतया बन्द हुन्छ। ईश्वरचन्द्र विद्यासागरले विधवा पुनःविवाहका निम्ति आन्दोलन छेडेका थिए। भारतका नारीहरूलाई पहिलोपटक मताधिकार सन् १९१९-मा प्राप्त भयो अनि केही प्रान्तमा उनीहरूले स्थानीय चुनाव पनि लड्न पाए। अङ्ग्रेजले नारी शिक्षामाथि प्राथमिकता दिएका थिए। अङ्ग्रेजी शासनकालले जन्माएका कैंयन् शिक्षित नारीहरू यसका साक्षी हुन्। चन्द्रमुखी बसु र कदम्बिनी ग्याङ्गुली ब्रिटिश शासनकालमा स्नातक बन्ने दुई पहिलो भारतीय नारी हुन्। आनन्दी गोपाल जोशी भारतका पहिलो महिला डाक्टर अनि संयुक्त राज्य अमेरिकामा चिकित्साको डिग्री हासिल गर्ने पहिलो भारतीय नारी हुन्। कप्तान प्रेम माथुर अङ्ग्रेज राजमा पाइलटको लाइसेन्सधारी पहिलो ब्रिटिश-भारतीय नारी हुन्। कर्नेलिया सोराबजी भारतका पहिलो महिला अधिवक्ता अनि अक्सफोर्ड विश्वविद्यालयमा कानुन अध्ययन गर्ने पहिलो भारतीय नारी हुन्। भारतीय मिलिटरी नर्स सेवाको शुरूवातसितै सन् १८८८ –देखि भारतीय सेनामा नारीलाई प्रवेश दिन थालियो। १९१४ –देखि १९४५-सम्मको अवधिमा सेनाका धेरै भारतीय नर्सहरूले पहिलो र दोस्रो विश्व युद्धमा उल्लेखनीय भूमिका खेलेका छन्। यी युद्धमा झण्डै ३५० नर्सको ज्यान गयो, युद्धबन्दी भए अनि धेरै लापत्ता भए।

नारी स्वतन्त्रता सेनानीहरूको सूचीमा खरसाङकी पुतलीदेवी पोद्दार, खरसाङकी मायादेवी छेत्री र सिक्किमकी एकमात्र नारी स्वतन्त्रता सेनानी सावित्री देवी (हेलेन) लेप्चा (जो पछि खरसाङमा बसाइँ सरिन्) –को अग्रज स्थान रहेको छ

भारतका पहिलो महिला शिक्षक मानिने समाज सुधारक तथा शिक्षाविद् सावित्रीबाई फूले नै हुन् जसले पूणेमा भारतको पहिलो कन्या पाठशाला खोलेकी थिइन्। उनले लिङ्गभेद र जातिवादका विरूद्ध धेरै संघर्ष गरिन्। यसरी लिङ्ग समानताको आवाज ब्रिटिशकालदेखि गुञ्जिन थालेको भन्दा अत्युक्ति नहोला। यस्तो आवाज उठाउने नारी योद्धाहरूमा एकजना बेगम रोयेका पनि हुन् जसले साहित्यको माध्यमबाट लिङ्ग समानताप्रति जनचेतना ल्याउनमा ठूलो भूमिका खेलेकी थिइन्। रानी लक्ष्मीबाई जस्तै अर्की साहसी वीरङ्गना झलकारी बाई पनि थिइन् जसले जङ्गलमा बाघलाई आफ्नो हतियारले मारेकी थिइन्। यसलाई नारी सशक्तिकरणको बेग्लै रूप मान्न सकिन्छ। भारत छोड आन्दोलन र भारतको स्वतन्त्रता आन्दोलनमा नारीहरूले खेलेको भूमिका इतिहासमा अङ्कित छन्। नेताजी सुवासचन्द्र बोसको आजाद हिन्द फौजमा लक्ष्मी सहगल, लक्ष्मी स्वामीनाथन जस्ता कैयौं नारीहरू सदस्य थिए। नारी सशक्तिकरणको महत्वलाई ध्यानमा राखेर नै महान् नेता, समाज सुधारक तथा प्रगतिशील चिन्तक नेताजीले झाँसीकी रानीजस्ता तलवार चलाउने वीर नारीहरूको छुट्टै रेजिमेन्टको गठन गर्ने घोषणा गरेका थिए, तर तत्कालीन पितृ सत्तात्मक समाजले यसको घोर विरोध गरे। उन्नाइसौं शताब्दीको अस्सी दशकतिर नारीवाद र नारी सशक्तिकरणका निम्ति लड्ने एक सशक्त नारी हुन् ताराबाई शिन्दे। भारतमा नारीवादी आन्दोलनका एकजना अग्रज योद्धा ताराबाई शिन्दे नारीवादी पुस्तक ‘स्त्री पुरूष तुलना’ –की लेखक हुन्। यसलाई भारतको पहिलो नारीवादी कृति भन्न सकिन्छ। यसमा ताराबाईले सामाजिक असमानताको आलोचना गरेकी छन्। पितृ सत्तात्मक समाजमा आफ्ना स्वामीसित उनले बेग्लै पारिवारिक मान्यताको पालना गरेकी थिइन्। पति ताराबाईका परिवारसित बस्थे अनि ताराबाईले जीवनमा निसन्तान बस्ने अठोट गरिन्। ताराबाईले हिन्दु धर्मशास्त्रलाई नारी शोषणका स्रोत मान्दै यसलाई चुनौती दिएकी थिइन्। उनलाई पनि नारी सशक्तिकरणका प्रतीक मान्न सकिन्छ। नारी स्वतन्त्रता सेनानीहरूको सूचीमा खरसाङकी पुतलीदेवी पोद्दार, खरसाङकी मायादेवी छेत्री र सिक्किमकी एकमात्र नारी स्वतन्त्रता सेनानी सावित्री देवी (हेलेन) लेप्चा (जो पछि खरसाङमा बसाइँ सरिन्) –को अग्रज स्थान रहेको छ।

स्वतन्त्रतापछि नारीहरूको हितमा अझै धेरै कानून बनिए जस्तै विशेष विवाह ऐन १९५४, हिन्दु विवाह ऐन १९५५, हिन्दु उत्तराधिकार ऐन १९५६, दाइजो प्रतिबन्ध ऐन १९६१, परिवार विधिन्यायालय ऐन १९८४, घरेलु हिंसा ऐन २००० इत्यादि

भारतीय स्वतन्त्रतापछि नारी :

सन् १९४७–मा अङ्ग्रेज राजबाट भारत स्वतन्त्र भएपछि नारी सशक्तिकरणको मार्ग खोलिएको देख्नमा आयो। भारतीय संविधानको निर्माण गर्न गठित संविधान सभामानारी सदस्यहरूको नियुक्तिबाट लिङ्ग समानता, नारी सशक्तिकरण र नारी उन्मुक्तिप्रति भारत सरकारका कटिबद्धताको अनुमान लगाउन सकिन्छ। भारतेली समाज यसका निम्ति तयार भए-नभएको अर्कै विषय बन्नजान्छ। संविधान सभामा पन्ध्रजना नारी सदस्यहरू थिए – केरालाकी अम्मु स्वामीनाथन, एकमात्र मुस्लिम सदस्या बेगम ऐजाज रसूल, कोचिनकी दक्षयति वेलायुद्धन, आन्द्रप्रदेशकी दुर्गाबाई देशमुख, गुजरातकी हन्स जीवराज मेहता, लखनऊकी कमला चौधरी, असमकी लीला राय, पूर्व बङ्गाल (वर्तमान बङ्लादेश) –की मालती चौधरी, उत्तर प्रदेशकी पूर्णिमा ब्यानर्जी, पश्चिम बङ्गालकी रेनुका राय, हैदराबादकी सरोजनी नाइडु, हरियाणाकी सुचेता कृपालनी, अलाहाबादकी विजयलक्ष्मी पण्डित र केरालाकी एनी मस्कारिन। भारतीय संविधानमा सबै क्षेत्रमा नारीको समान अधिकार, मौलिक अधिकार रनारीको पक्षमा शोषणका विरूद्ध अधिकार, धार्मिक स्वतन्त्रता अधिकार, सम्पत्ति अधिकार, सांस्कृतिक तथा शैक्षिक अधिकार, मुकदमा लडने अधिकार जस्ता कैयौं प्रावधान समाहित भए। स्वतन्त्रतापछि नारीहरूको हितमा अझै धेरै कानून बनिए जस्तै विशेष विवाह ऐन १९५४, हिन्दु विवाह ऐन १९५५, हिन्दु उत्तराधिकार ऐन १९५६, दाइजो प्रतिबन्ध ऐन १९६१, परिवार विधिन्यायालय ऐन १९८४, घरेलु हिंसा ऐन २००० इत्यादि। यसरी कानुनी तवरमा नारी अधिकार सुरक्षित भए। राष्ट्रिय महिला आयोगको गठन भयो। संविधानअन्तर्गत नारीहरूले मताधिकारसँगसँगै चुनाव लड्ने अधिकार पनि पाए। ७३औं संविधान संशोधन ऐन १९९२अन्तर्गत पञ्चायतमा नारीहरूका निम्ति एक-तिहाइ सीट आरक्षित गरिएको छ। तर बहुसंख्यक पुरूष सांसदहरूको विरोधका कारण लोकसभा र राज्य विधानसभामा महिलाहरूको ३३ प्रतिशत सीट आरक्षणसम्बन्धी १०८औं संविधान संशोधन विधेयक भने अझसम्म पारित हुनसकेको छैन।

आधुनिक युगमा नारीवादी चिन्तनको उर्जाबाट नारी सशक्तिकरणले नयाँ मोड लियो। स्वतन्त्रतापछि भारतमा नारीहरू कानून, राजनीति, प्रशासन, खेलकूद, विज्ञान, साहित्य, समाजसेवा, खेलकूद, सङ्गीत-कला जस्ता सबै क्षेत्रमा अग्रज रही धेरै ख्याति आर्जन गर्दै आएका छन्। यस्ता सशक्त नारीहरूमा केहीको नाउँ लिनपर्दा असिमा च्याटर्जी जैविक रसायन र औषधिमूलक पौधामाथि शोध गर्ने भारतका पहिलो महिला वैज्ञानिक र समाज सेवामा विश्वमा ख्यातिप्राप्त मदर टेरेजा नोबेल शान्ति पुरस्कारले सम्मानित पहिलो भारतीय महिला हुन्। इन्दिरा गान्धीलाई नारी सशक्तिकरणका प्रतीक मान्न सकिन्छ। उनी भारतका पहिलो महिला प्रधानमन्त्री अनि देशको सर्वोच्च सम्मान भारत रत्नद्वारा सम्मानित पहिलो नारी हुन्। उनलाई १९९९ सालमा बीबीसीद्वारा आयोजित जनमत संग्रहमा सहस्राब्दी नारी घोषित गरिएको थियो। प्रतिभा देवीसिंह पाटिल भारतका पहिलो महिला राष्ट्रपति अनि द्रौपदी मुर्मु भारतका पहिलो नारी अनुसूचित जनजाति राष्ट्रपति हुन्। पश्चिम बङ्गालका पहिलो नारी राज्यसभा सांसद खरसाङ निवासी मायादेवी छेत्री, लोकसभाका पहिलो नारी अध्यक्ष मीरा कुमार र सिक्किमका पहिलो नारी विधानसभा अध्यक्ष कलावती सुब्बालाई पनि उल्लेख नगरी सकिँदैन। ३४ वर्षे लामो वाममोर्चा सरकारलाई सत्ताच्युत गराउन सक्षम भएकी पश्चिम बङ्गालका पहिलो नारी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पनि नारी सशक्तिकरणका प्रतीक मान्न सकिन्छ। भारतीय पुलिस सेवामा प्रवेश गर्ने पहिलो भारतीय नारी किरण वेदीले नारी सशक्तिकरणको मार्गमा नयाँ माइलखुट्टी थपेकी छन्। उनी संयुक्त राष्ट्र नागरिक पुलिस सल्लाहकार नियुक्त हुने पहिलो महिला पनि हुन्। पुलिस सेवा मात्र होइन सेनाका तीनै अङ्गमाअहिले नारीहरूको प्रवेश भइसकेको छ। मिलिटरी नर्सिङ सेवाकी जी एलिसराम मेजर जेनरलको पदमा पुग्ने भारतीय सेनाका पहिलो महिला अधिकारी हुन्। सन् १९९२ –देखि भारतीय सेनाले महिला अधिकारीहरूलाई गैर-चिकित्सा सेवामा पनि सामिल गर्न थालेको हो। पहिलोचोटि भारतीय सेनामा प्रवेश भएका २५ नारीहरूमा प्रिया झिन्गन र अञ्जना भादुरिया पनि हुन्। अल्का खुराना गणतन्त्र दिवस परेड र सेना दिवस परेडमा सहभागी हुने भारतीय सेनाका महिला अधिकारी हुन्। सन्२०२० –मा गणतन्त्र दिवस परेडमा सर्व-पुरूष परेड दलको अगुवाई गरेर कप्तान तानिया शेर गिलले नारी सशक्तिकरणलाई प्रमाणित गरिदिएकी छिन्। सेना अधिकारी लेफ्टनेन्ट कर्नल मिताली मधुमिता वीरता पुरस्कारले सम्मानित हुने पहिलो नारी हुन्। वायु सेनामा पनि नारीहरू पछि छैनन्। १९६५ –को भारत-पाकिस्तान युद्धका बेला उल्लेखनीय सेवा पुर्याएवापद् फ्लाइट लेफ्टनेन्ट कान्ता हान्डा प्रशस्तिपत्रले सम्मानित हुने भारतीय वायु सेनाका पहिलो महिला अधिकारी हुन्। सरला ठकराल पहिलो भारतीय महिला पाइलट हुन् जसले २१ वर्षको उमेरमा पाइलटको लाइसेन्स पाएकी थिइन्। विङ् कमान्डर शालिजा धामी भारतीय वायु सेनामा स्थायी कमिसन पाउने पहिलो महिला अधिकारी हुन्। हरिता कौर देओल भारतीय वायु सेनाका एकल उडान भर्ने पहिलोमहिलापाइलट हुन्। डा. बार्बारा घोषभारतीय नौसेनामा कमान्डर पदसम्म पुग्ने पहिलो महिला अधिकारी हुन्। भारतीय नौसेनामा दोस्रो सर्वश्रेष्ठ पद लेफ्टनेन्ट जनरलमा पुग्ने डा. पुनिता अरोड़ा पहिलो नारी अनि पहिलो महिला भाइस एडमिरल हुन्। उप-लेफ्टनेन्ट शिवाङ्गी भारतीय नौसेनाका पहिलो महिला पाइलट हुन्। यसैगरी अहिले कैंयौ नारीहरू अर्ध-सैनिक बलमा पनि सेवारत छन्। (तेस्रो भागमा पढ्नुहोस्: सफलताको शिखरमा पाइला टेक्दै नारी) 

(लेखिका सुपरिचित सामाचार वाचिका/उद्घोषिका, स्वतन्त्र पत्रकार साथै नारीवादी लेखिका हुनुहुन्छ)    

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement