गान्तोक: आज गान्तोकस्थित भारतीय जनता पार्टीको कार्यालयको केन्द्रिय पेट्रोलियम एवं प्राकृतिक ग्यास अनि श्रम तथा रोजगार राज्यमन्त्री रामेश्वर तेलीले भ्रमण गरेर उपस्थित पदाधिकारीगण तथा कार्यकर्ताहरूसित भेटघाट गरे। यस अवसरमा क्षेत्र विधायक वाईटी लेप्चा, पार्टी महासचिव सुदीप प्रधान, प्रदेश प्रवक्ता डा. राजु गिरी, मजदुर मोर्चा अध्यक्ष किन्ले ग्याल्छेन भोटिया, युवा मोर्चा अध्यक्ष विकास दाहाल, गान्तोक जिल्ला महामन्त्री साङ्गे पल्जर, कोषाध्यक्ष जिग्मी लाचेन्पा, डीपीएचकी नगर पार्षद् विन्द्या सिञ्चुरीलगायत विभिन्न स्तरका पार्टी पदाधिकारीगण एवं कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
छोटो भेटघाट कार्यक्रममा प्रदेश प्रवक्ता डा. राजु गिरीले मन्त्री रामेश्वर तेलीलाई स्वागत जनाउँदै सिक्किम राज्यमा मजदूरहरूको पक्षमा दीर्घकालीन मागको रूपमा रहेको ईएसआईसी अस्पताल निर्माण हेतु श्रम तथा रोजगार मन्त्रालयको तर्फबाट गरिएको सक्रिय पहलको निम्ति आभार व्यक्त गरे। केन्द्रिय मन्त्रीहरूको यस प्रकारको भ्रमणले राज्यमा भाजपा कार्यकर्ताहरूले पनि ऊर्जा प्राप्त गर्ने बताउँदै भ्रमण अवधि सिक्किमको विकास र प्रगतिको निम्ति मन्त्रीद्वारा गरिएका पहलहरूको निम्ति धन्यवाद दिए।
आफ्नो छोटो सम्बोधनमा मन्त्री रामेश्वर तेलीले उत्तरपूर्वी विकास मन्त्री जी. किशन रेड्डीको निर्देशनमा सिक्किम भ्रमणमा आएको बताउँदै आफ्नो मन्त्रालयको अधीनमा सिक्किममा १०० बेडको ईएसआईसी अस्पतालको निम्ति पहल गरिरहेको साथै पेट्रोलियम अनि प्राकृतिक ग्यास मन्त्रालय अन्तर्गत वैकल्पिक बोटलिङ प्लाण्टको स्थापनाको निम्ति चर्चा भइरहेको बताए। उनले पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै सफलताको निम्ति निरन्तर लागि पर्नुपर्ने कुरामा जोड़ दिए। सबै कार्यकर्ताहरू एकबद्ध भएर लागिपरे भविष्यमा सिक्किममा पनि भाजपाको सरकार अवश्य बनिने विश्वास व्यक्त गरे। कार्यक्रमलाई क्षेत्र विधायक वाईटी लेप्चाले पनि सम्बोधन गरेको विज्ञप्तिमा बताइएको छ।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								




