राज्यमन्त्री रामेश्वर तेलीको दुई दिवसीय सिक्किम भ्रमण सम्पन्न

IMG_20220915_000110.jpg

१०० बेडेड ईएसआईसी अस्पताल निर्माण गरिदिने घोषणा

गान्तोक: केन्द्रिय पेट्रोलियम एवं प्राकृतिक ग्यास अनि श्रम तथा रोजगार राज्यमन्त्री रामेश्वर तेलीको दुई दिवसीय सिक्किम भ्रमण सम्पन्न भएको छ। यसपल्ट श्रम तथा रोजगार राज्यमन्त्रीको भ्रमण सम्पूर्ण सिक्किमे खटिखाने श्रमजीवीवर्गको निम्ति एउटा वरदान साबित भएको दाबी भाजपा सिक्किमले गरेको छ। दुई दिवसीय भ्रमण अवधि मन्त्री तेलीले श्रमिकवर्गको पक्षमा विविध सौगातहरू दिएर गएको जानकारी प्रदेश भाजपा प्रवक्ता डा. राजु गिरीले विज्ञप्तिमा दिएका छन्। विशेष गरेर विगत लामो समयदेखि श्रमिकहरूको पक्षमा उठाइएको ईएसआईसी अस्पताल निर्माणको निम्ति मन्त्री तेलीले स्थलगत निरीक्षण गर्नका साथै १०० बेडेड अस्पताल निर्माण गरिदिने घोषणा गरेका छन्। अहिलेसम्म सिक्किममा श्रमिकहरूको निम्ति ईएसआईसीको कुनै अस्पताल थिएन भने केवल कतिपय अस्पतालहरूमा डिस्पेन्सरीहरू मात्र स्थापित थिए।

भाजपा सिक्किमले पटक-पटक यसबारे आफ्नो माग उठाउँदै आएको थियो भने केही महिना अघि मन्त्री तेलीलाई विशेष रूपमा पत्राचार गरेर यसको निम्ति पहल गर्ने निवेदन गरेको थियो जसको फलस्वरूप आज आएर केन्द्रिय श्रम तथा रोजगार मन्त्रालयले यसलाई अनुमोदन गरेको छ। अर्कोतिर, राज्यमन्त्रीले राज्यका खटिखाने श्रमजीवीवर्गलाई ई-श्रम पोर्टलमा पंजीकरण गराउन विशेष जोड़ दिए, जसले आगामी दिनमा राज्यका सबै श्रमजीवीहरूको पंजीकरणको बाटो खोलिएको छ। मन्त्री तेलीले हिजो कतिपय श्रमिकहरूलाई ई-श्रम कार्ड पनि प्रदान गरेका छन्। केन्द्र सरकारको यस योजना अन्तर्गत असंगठित क्षेत्रका १८-६० वर्षसम्मका श्रमजीवीहरूले पंजीककरण गर्न सक्नेछन् जसबाट उनीहरूले मृत्यु भएको खण्डमा दुई लाख रुपियाँ तथा अपांग बनेको खण्डमा १ लाख रुपियाँको बीमा साथै अन्य विभिन्न श्रमिकमुखी सुविधाहरू समावेश छन्।

सोही प्रकारले मन्त्री तेलीले आफ्नो भ्रमण अवधि मोदी सरकारको महत्वपूर्ण योजना उज्ज्वला २.० अन्तर्गत सिक्किमका महिलाहरूलाई निःशुल्क एलपीजी कनेक्सन प्रदान गर्ने कार्यक्रमको शुरूवात गरेका छन्। यसका साथै एलपीजी सिलिण्डरको वजनलाई कम गर्नको निम्ति फाइबर कम्पोस्ट सिलिण्डरको चलन शुरू गरेका छन् जसले भरिएको एलपीजी सिलिण्डरको वजन अब लगभग १६ किलोग्राम मात्र रहनेछ। सोही प्रकारको राज्यको बढ्दो तेल खपतलाई ध्यानमा राखेर दक्षिण-पश्चिमको निम्ति एउटा अलग्गै डिपो स्थापना गर्ने पनि मन्त्री तेलीले प्रस्ताव दिएका छन् जसको निम्ति राज्य सरकारले जमीन उपलब्ध गराउनुपर्नेछ।
आफ्नो भ्रमण अवधि मन्त्री तेलीले गान्तोक जिल्ला अन्तर्गत राक्दोङ-तिन्तेक खण्ड प्रशासनिक केन्द्रको पनि भ्रमण गरेका थिए भने उनले स्थानीय सामुदायिक विकासको निम्ति रू. ५ लाख रुपियाँ प्रदान गरेका छन्। सिक्किमे जनताको पक्षमा राज्यमन्त्री रामेश्वर तेलीले प्रदान गरेका उपरोक्त सम्पूर्ण सौगातको निम्ति भाजपा सिक्किमले प्रधानमन्त्री नरेन्द्र मोदी साथै केन्द्र सरकारप्रति आभार व्यक्त गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement