जीटीए र एनसीसीले माउन्ट एभरेस्ट चढ्न सफल सन्त जोसेफ कलेजकी प्रतिमा राईलाई सम्मान गर्ने

IMG-20250526-WA0158

खरसाङ: जीटीए र एनसीसीले माउन्ट एभरेष्ट चढ्न सफल सन्त जोसेफ कलेज दार्जिलिङकी प्रतिमा राईलाई सम्मान गर्ने भएको छ। आज भएको एक महत्त्वपूर्ण बैठकमा उत्तर बङ्गालका एनसीसी प्रभारी ब्रिगेडियर मुकेश गुरुङले गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन (जीटीए) का मुख्य कार्यपाल अनित थापासँग भेट गरी सन्त जोसेफ कलेज, दार्जिलिङकी छात्रा प्रतिमा राईलाई माउन्ट एभरेष्ट चढ्नुको उनको उल्लेखनीय उपलब्धिलाई सम्मान गर्ने साझा पहलमा छलफल गरे। खरसाङको गिद्ध पहाडस्थित जीटीएको मिनी सचिवालयमा बसेको बैठकमा संसारको सबैभन्दा अग्लो हिमशिखर सफलतापूर्वक चढेर दार्जिलिङ पहाड र राष्ट्रलाई गौरवान्वित गर्न सफल भएकी प्रतिमा राईको असाधारण उपलब्धिलाई मान्यता दिने विषयमा ध्यान केन्द्रित गरिएको थियो। जीटीए र राष्ट्रिय क्याडेट कोर (एनसीसी) ले संयुक्त रूपमा उनको यस सफलताको उत्सव मनाउन एवं क्षेत्रका युवाहरूलाई प्रेरित गर्न एउटा भव्य सम्मान समारोह आयोजना गर्ने निर्णय लिएका छन्। प्रतिमाको दृढ संकल्प र साहसलाई प्रशंसा गर्दै अनित थापाले युवा पुस्तालाई प्रेरित गर्न यस्ता उपलब्धिहरूलाई मान्यता दिने महत्त्व बताए। “प्रतिमा राईको सफलता पहाडका मानिसहरूको धर्य अनि जोशको प्रतीक हो। गोर्खाले कष्ट भोग्दै भए पनि जस्तै परिस्थितिमा पनि अघि बढ्नु सक्छ भन्ने प्रमाण प्रतिमाको सगरमाथा आरोहणले दिएको छ। प्रतिमा राई युवाहरुको निम्ति आदर्श अनि प्रेरणा बन्नु सकुन,” थापाले भने।
ब्रिगेडियर मुकेश गुरुङले एनसीसीको नेतृत्व र अनुशासनलाई बढावा दिने प्रतिबद्धतालाई जोड दिँदै भने, “प्रतिमाको उपलब्धि एनसीसीका मूल्यहरू-साहस, दृढता र टीम भावनासँग मेल खान्छ। हामी जीटीए सँगको सहकार्य मार्फत उनको सफलतालाई मनाउन र अधिक विद्यार्थीहरूलाई महान उद्देश्यहरूतिर अग्रसर हुन प्रोत्साहित गर्न उत्साहित छौं।”
राष्ट्रिय क्याडेट कोर (एनसीसी) को १० सदस्यीय टोलीको एक सदस्य प्रतिमा राई थिए। टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर) को सफल आरोहण मई १९, २०२५ मा पूरा गरेर इतिहास रचेको थियो। यो एनसीसीको तेस्रो सफल सगरमाथा अभियान थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement