काठमाडौं: नेपाल-बेलायत संसदीय मैत्री समूहको पहिलो बैठक सोमबार सम्पन्न भयो।
सिंहदरबारमा आयोजित समूहको उद्घाटन बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) का सांसद बिराजभक्त श्रेष्ठले संयोजन गरे।
बैठकले नेपाल र बेलायतबीचको लामो समयदेखिको सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले संसदीय मैत्री समूहलाई अझ सक्रिय र प्रभावकारी बनाउने निर्णय गरेको छ।
बैठकमा सहभागी सांसदहरूले नेपाल-बेलायत सम्बन्धका विभिन्न आयामहरूबारे छलफल गरेका थिए। संयोजक श्रेष्ठले समूहले आगामी दिनमा दुवै देशका सांसदहरूबीच पारस्परिक समझदारी अभिवृद्धि गर्न नियमित संवाद, अनुभव आदानप्रदान र कार्यक्रमहरूलाई प्राथमिकता दिने बताए।
बैठकले संसदीय कूटनीतिलाई संस्थागत र सुदृढ पार्न अगाडि बढ्दै नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
समूहले आगामी दिनहरूमा दुवै देशको हितमा काम गर्ने रणनीतिका साथ योजनाबद्ध गतिविधिहरू सञ्चालन गर्ने तयारी गरिरहेको छ।