राजनीति केवल लोकसभा, राज्यसभा अनि विधानसभा सम्म सीमित हुँदैन, यो जनताको भावना, संघर्ष र युवाशक्तिको सपनामा सधैं जीवित रहन्छ: सागर तामाङ

IMG-20250526-WA0161

सोनादा: राजनीति केवल लोकसभा, राज्यसभा अनि विधानसभासम्म मात्र सीमित हुँदैन। यो जनताको भावना, संघर्ष र युवाशक्तिको सपनामा सधैं जीवित रहन्छ भनी गोरामुमो सोनादा टाउन कमिटीको सदस्य सागर तामाङले बताएका छन्। उनले यही यथार्थलाई प्रतिबिम्बित गर्दै गोर्खा राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समिति सेक्रेटरी जनरल तथा दार्जिलिङका विधायक निरज जिम्बाले हालै युवाहरुलाई सम्बोधन गर्दै एक महत्वपूर्ण र सशक्त राजनीतिक सन्देश दिएका छन्। जसमा उनले
“गोर्खा जातिको न्याय सुनिश्चित गर्नुको निम्ति अबको पुस्ताको कर्तव्य हो” भन्ने उहाँको स्पष्ट वाक्य केवल आवेग होइन, यो भावी पुस्ताको दायित्व र मिशनको उद्घोष हो। सयौं वर्षदेखि अन्याय र बेवास्ताको शिकार हुँदै आएको गोर्खा समाज आज पनि पहिचान, अधिकार र अस्तित्वको लडाइँ लडिरहेको छ। यस्तो संवेदनशील घडीमा युवा वर्गले राजनीति केवल आलोचना वा विमुखताको विषय बनाउने होइन, सक्रिय सहभागिताको माध्यम बनाउनु आवश्यक छ भन्ने सन्देश विधायक निरज जिम्बाले दिएका छन्।
उनको भनाइ, “दिल्लीले जे दिन्छ, त्यो गोर्खा जातिका लागि राम्रै हुन्छ अनि त्यो हाम्रै हुन्छ — तर त्यसका लागि हामी एकताबद्ध भएर अघि बढ्नैपर्छ, अध्यक्ष मन घिसिङको हात बलियो बनाउनु पर्छ” राजनीतिक परिपक्वता र यथार्थबोधको प्रतिविम्ब हो। केन्द्र सरकारले लिएको हरेक निर्णय गोर्खा समुदायको हितमा होस् भन्ने सुनिश्चित गर्न गोर्खा जनप्रतिनिधिहरूको स्पष्ट आवाज, एकमत र दृढ संकल्प अपरिहार्य छ। यसका लागि संगठनलाई एकढिक्का बनाउँदै नेतृत्वको परिपक्वतामा विश्वास गर्नु आवश्यक छ। अध्यक्ष मन घिसिङप्रति व्यक्त गरिएको समर्थन यही राजनीतिक रणनीतिको अङ्ग हो।
सागर तामाङले‌ भने, ‘विधायक निरज जिम्बाले स्पष्ट रूपमा भनेका छन्, “अब समय आएको छ, यो समयलाई खेरो फाल्नु हुदैन। म सधैं युवाहरूको साथमा छु।” यो अभिव्यक्ति केवल प्रेरणाका शब्द होइनन्; यो गोर्खाहरुको मुद्दाको निम्ति संघर्षरत युवाहरुको निम्ति अविचल सहभागिता सुनिश्चित गर्ने प्रतिज्ञा हो। आजको युग सूचना र प्रविधिको हो, जहाँ विचार र आन्दोलन डिजिटल माध्यमबाट पनि फैलिन्छन्। यस्तो बेला युवाहरूको सिर्जनशील सोच, ऊर्जाशील योगदान र निष्ठापूर्ण सहभागिता आन्दोलनलाई नयाँ दिशा दिन सक्छ। अन्ततः गोर्खा आन्दोलनको भविष्य युवाहरूको काँधमा छ। यदि युवावर्गले बोधपूर्वक, संगठित र दूरदर्शितापूर्ण ढंगमा नेतृत्वको साथ कदम अघि बढायो भने न्याय, पहिचान र अधिकारका लागि वर्षौंदेखिको यो आन्दोलन निष्कर्षमा पुग्न सक्नेछ। आज समयले युवालाई बोलाइरहेको छ। यो अवसरलाई उपयोग गरौँ, एकता र संघर्षको मार्गमा अघि बढौँ, र गोर्खा जातिको उज्यालो भविष्य निर्माण गरौँ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement