गान्तोक: आगामी २९ मईको दिन प्रधानमन्त्री नरेन्द्र मोदीको सिक्किम भ्रमणको तयारी युद्वस्तरमा चलिरहेको छ। यसक्रममा सिक्किम सरकारको ग्रामीण विकास विभागका मन्त्री एवं सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका सेक्रेटरी जेनरल अरुण कुमार उप्रेतीको नेतृत्वमा गान्तोकमा मोकड्रिल कार्यक्रम आयोजन गरियो। प्रधानमन्त्रीको सिक्किम भ्रमणलाई स्मरणीय बनाउन यसबेला सरकार लगायच सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा पार्टी पनि सक्रियरुपमा लागिपरेको छ। उक्त भ्रमणमा कुनै प्रकारका बाधा उत्पन्न नपरोवस् भन्ने उद्देश्यले जागरुकता जगाउन मोकड्रिल आयोजना गरिएको हो। यस अवसरमा मुख्यमन्त्रीका राजनीतिक सचिव विकास बस्नेत, मुख्यमन्त्रीका ओएसडी कर्मा सुब्बालगायत अन्य अधिकारीहरुको पनि उपस्थिति थियो। देशका प्रधानमन्त्री मोदीलाई सिक्किम भ्रमणमा स्वागत गर्न मुख्यमन्त्री प्रेमसिंह तामाङले केही महिनादेखि आधिकारिकरुपमा प्रयास गरिरहेका छन्। प्रधानमन्त्रीको सिक्किम भ्रमणले राज्यमा नयाँ अवसर र विकास कार्यमा विस्तार ल्याउने अपेक्षा गरिएको छ। उल्लेखनीय छ, सिक्किम राज्य स्थापनाको ५०औं वर्ष पुरा भएको अवसरमा राजधानीस्थित पाल्जोर स्टेडियममा आयोजना हुने भव्य कार्यक्रममा प्रधानमन्त्रीले सहभागिता जनाउने तय भएको छ। उक्त अवसरमा उनले राज्यको विभिन्न पूर्वधारहरुको भर्चुअलरूपमा उदघाटन गर्ने कार्यक्रम तय भएको छ।