गान्तोक: साहित्यकार तथा पत्रकार प्रवीण खालिङ प्रतिष्ठित २८औं डा. शोभाकान्ति थेगिम (लेप्चा) स्मृति पुरस्कारद्वारा अलङ्कृत हुने भएका छन्। आज गान्तोकमा बसेको डा. शोभाकान्ति थेगिम (लेप्चा) ट्रष्टद्वारा गठित एक चयन समितिले खालिङको नामलाई अन्तिम रुप दिएको हो। चयन संमितिले साहित्यकार खालिङको निबन्ध सङ्ग्रह ‘चिया गफ’-लाई पुरस्कार अर्पण गर्ने घोषणा गरेको छ। हो, उनको नाम दुईस्तरीय चयन समितिको अग्रसरतामा अनुमोदन गरिएको बताइएको छ। स्मरण रहोस्, उक्त पुरस्कार प्रत्येक वर्ष दिवङ्गत डा. शोभाकान्ति थेगिमको ४ जुलाईको दिन जन्मजयन्तीको अवसरमा अर्पण गरिन्छ। जसमा नगद पुरस्कार ५० हजार, ताम्रपत्र र प्रमाणपत्र सामेल छन्। प्रवीण खालिङलाई आगामी ४ जुलाईको दिन आयोजन गरिने विशेष समारोहमा पुरस्कार प्रदान गरिनेछ। उल्लेख्य, ट्रष्टले १९९८ देखि प्रत्येक वर्ष लेखकहरूलाई डा. शोभाकान्ति थेगिम (लेप्चा) स्मृति पुरस्कार प्रदान गर्दै आएको छ। यसक्रममा २०१९ देखि साहित्यकार, सङ्गीतकार र प्रकाशकहरूलाई पनि सम्मानित गर्दै आएको छ। यस वर्ष ट्रष्टले सांस्कृतिक सम्पदा संरक्षणका निम्ति चारजना विशिष्ट व्यक्तित्व क्रमैले पत्रकार सुवास दीपक, नाट्यकार रूपा तामाङ, विक्रम गौतम र चित्रकार दीपा राईलाई सम्मान जनाउने घोषणा गरेको छ। ६ दिसम्बर, १९८६मा गान्तोकको कोपीबारी, अप्पर स्यारीमा प्रदीप खालिङ र गङ्गा खालिङका सुपुत्रका रूपमा जन्मिएका प्रवीण खालिङको प्रारम्भिक शिक्षा दार्जीलिङको विद्या विकास एकाडेमीबाट भएको थियो। उनले राजनीति विज्ञान र नेपाली साहित्यमा स्नातकोत्तर तहको शिक्षा उत्तर बङ्गाल विश्वविद्यालयबाट हासिल गरेका हुन्। खालिङको साहित्यिक यात्रा विद्यालय जीवनदेखि नै प्रारम्भ भएको थियो। छैटौँ श्रेणीमा अध्ययन गर्दाताका नै उनले कथा र कविता लेख्न थालेका थिए। उनका कृतिहरूमा चिह्नारी, सीमान्तीकरण, ग्रामीण जीवनशैली तथा सामाजिक-राजनीतिक चेतना प्रमुख विषयवस्तुका रूपमा पाइन्छन्। उनी प्रेम, अस्तित्व र हिमाली जीवन अनुभूतिलाई कविता, निबन्ध र कथामार्फत चित्रण गर्न सिद्धहस्त छन्। उनका हालसम्म दुईवटा कृति प्रकाशित छन्, जसमा ‘झरी’ कविता सङ्ग्रह र ‘चिया गफ’ निबन्ध सङ्ग्रह हुन्। हालसम्म खालिङले एक्सिलेन्स पत्रकारिता पुरस्कार (कालेबुङ-२०१०), राम पात्रो स्मृति पुरस्कार (गान्तोक-२०११), लेखराज साहित्य पुरस्कार (नारायणगढ़- नेपाल २०१७), जलवायु परिवर्तन सम्बन्धी रिपोर्टिङका लागि मुख्यमन्त्री पुरस्कार (गान्तोक-२०२३), साहित्य सम्मान पुरस्कार (पाकिम-२०२३) र हिल टाइम्स पुरस्कार (दार्जीलिङ-२०२४) रहेका छन्।