मिरिक: किराँत खम्बु राई साँस्कृतिक संस्थानकाे आयाेजनामा शनिबारदेखि मिरिक आले खेल मैदानमा पालन गरिएकाे दुई दिवसीय साकेला उत्सवकाे भब्य समापन आज भएको छ। समापन कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा सिक्किम सरकारका मन्त्री भाेजराज राई उपस्थित रहेका थिए भने मुख्य अतिथिको रुपमा गाेर्खाल्याण्ड क्षेत्रीय प्रशासनका मुख्य कार्यपाल अनित थापा उपस्थित रहेका थिए। यस अवसरमा जीटीएका सभासदहरू अरूण सिंग्ची, मिलेस राई, मिरिक नगरपालिका अध्यक्ष एलबी राई, अखिल किराँत राई संघ सिक्किमका अध्यक्ष माेहन दुङमाली, पूर्व अध्यक्ष डाक्टर एसके राई लगायत विभिन्न ठाँउका किराँत राईहरू भेला भएका थिए। कार्यक्रमकाे सञ्चालन सफल राईले गरेका थिए। समापन कार्यक्रममा उपस्थित रहेका गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा र सिक्किमको मन्त्री भोजराज राईलाई सांस्कृतिक रुपमा भव्य स्वागत जनाइएको थियो।

यस अवसरमा पत्रकारहरुसित कुराकानी गर्दै अखिल किराँत राई संघ सिक्किमका पूर्व अध्यक्ष डाक्टर एसके राईले यसरी राईहरुको उँभोली र साकेला पर्व भव्य रुपमा मनाउनु राम्रो कुरा रहेको बताउँदै यसरी साकेला पर्व मनाउँदा राई जातिको संस्कार र संस्कृतिको जगेरा हुने साथै यसरी मनाउँदा जनजातिको लागि पनि राम्रो हुने बताएका छन्। उनले आगामी दिनहरुमा राई जाति पनि जनजातिमा पर्ने आशा व्यक्त गरेका छन्।