गान्तोक: आगामी २९ मईको दिन प्रधानमन्त्री नरेन्द्र मोदीको सिक्किम भ्रमणलाई लिएर पाल्जोर स्टेडियमलाई कार्यक्रम स्थलको रुपमा सजाउने काम रफ्तारसित भइरहेको छ। उक्त कार्यक्रमको तयारीलाई लिएर मुख्यमन्त्रीका राजनीतिक सचिव विकास बस्नेत, प्रेस सचिव योगेन तामाङ लगायत एक टोलीले कार्यक्रम स्थलबारे जायजा लिए। उल्लेखनीय छ, राज्य स्थापनाको ५०औं वर्षगाँठ अर्थात स्वर्ण जयन्ती महोत्सवको अवसरमा देशका प्रधानमन्त्री नरेन्द्र मोदी लगायत अन्य केन्द्रीय मन्त्रीहरू सिक्किम आउने तय भएको छ। हालै मुख्यमन्त्री तामाङले दिल्लीमा प्रधानमन्त्री मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, लोकसभा अध्यक्ष ओम बिड़ला, केन्द्रीय वित्तमन्त्री निर्मला सितारमण लगायत अन्य अधिकारीहरूलाई भेट गर्दै स्वर्ण जयन्ती समारोहमा उपस्थितिका लागि औपचारिकरूपमा निमन्त्रणा दिएका हुन्।