कुआलालम्पुर: भारतीय ब्याडमिण्टन खेलाड़ी किदाम्बी श्रीकान्तले शनिवार मलेशिया मास्टर्स सुपर ५०० टुर्नामेण्टमा जापानका युशी टनाकालाई सीधा गेममा पराजित गरी ६ सालमा पहिलोपल्ट बीडब्ल्यूएफ टुर्नामेण्टको पुरुष एकल फाइनलमा प्रवेश गरे। २०२३ वर्ल्ड च्याम्पियनशीपका रजत पदक विजेता श्रीकान्तले असाधारण खेलको प्रदर्शन गर्दै सटीक नेट प्ले र आक्रामक खेलको साथ विश्वका २३औं नम्बरका खेलाड़ी टनाकालाई २१-१८, २४-२२-ले पराजित गरे। श्रीकान्त यसअघि २०१९-को इण्डिया ओपनमा उपविजेता रहेका थिए अनि त्यसपछि ३२ वर्षीय खेलाड़ीको बीडब्ल्यूएफ वर्ल्ड टूरमा यो पहिलो फाइनल हुनेछ। उनले २०१७-मा ४ वटा खिताब जितेका थिए। पूर्व नम्बर एक खेलाड़ी श्रीकान्त गत केही सीजनदेखि खराब फर्म र फिटनेससँग जुझिरहेका छन्। यसले गर्दा उनी वर्ल्ड ऱ्याङकिंगमा ६५औं स्थानमा रहेका छन्। यसअघि श्रीकान्तले आफूभन्दा उच्च ऱ्याङकिंग भएको फ्रान्सीसी खेलाड़ी टोमा जूनियर पोपोवलाई पराजित गरी सेमिफाइनलमा स्थान बनाएका थिए। सेमिफाइनलमा जीत हासिल गरेपछि श्रीकान्तले भने, लामो समयपछि यहाँ पुगेर म धेरै खुशी छु। शारीरिक रूपले असल अनुभव गरिरहेको छु। मैले गत वर्ष अधिक खेल्ने मौका पाइन अनि अहिले क्वालीफाईंग खेलिरहेको छु। यसपाली सबै कुरा ठीक रह्यो। म गत महिनादेखि कठोर मेहनत गरिरहेको छु।