खरसाङ: खरसाङकी साहित्य स्रष्टा, गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी अध्यक्षा एंव वर्तमान साहित्य अकादमी नेपाली भाषा परामर्श समितिकी सदस्या आशा मुखिया लामालाई साहित्य र संस्कृतिको क्षेत्रमा उनले दिएको बहुमूल्य योगदानको लागि मानार्थ डाक्टरेटको उपाधिद्वारा सम्मानित गरिएको छ। उनलाई उक्त मानार्थ डाक्टरेटको सम्मान दक्षिण सिक्किमको नाम्चीस्थित डिभाइन थियोलोजिकल ओपेन युनिभर्सिटीबाट प्रदान गरिएको छ। आज नाम्चीमा आयोजित डिभाइन थियोलोजिकल ओपेन युनिभर्सिटीको आठौँ दीक्षान्त समारोहमा उनलाई उक्त मानार्थ डाक्टरेटको उपाधिद्वारा सम्मानित गरिएको छ। उनलाई उक्त डाक्टरेटको उपाधिद्वारा सम्मानित गरिएको अवसरमा डिभाइन थियोलोजिकल ओपेन युनिभर्सिटीको संस्थापक एंव उप कूलपति रेभरेन्ट डा एमके राई र रजिस्ट्रार डा सावित्री बीके राईको बाहुलीबाट उक्त मानार्थ डाक्टरेटको उपाधिद्वारा सम्मानित गरिएको छ। उक्त मानार्थ डाक्टरेटको उपाधिद्वारा सम्मानित गरिएकोमा आशा मुखिया लामाद्वारा डिभाइन थियोलोजिकल ओपेन युनिभर्सिटीप्रति आभार प्रकट गरेकी छन्। यस अवसरमा आशा मुखिया लामासितै उत्तर सिक्किमका समाजसेवी मिक छिरिङ लेप्चालाई समाज सेवाको लागि, गान्तोकका टीबीचन्द्र सुब्बालाई साहित्यमा र मिजोराम निवासी गुनु घर्ती मगरलाई गीत लेखनमा मानार्थ डाक्टरेटको उपाधिद्वारा सम्मानित गरिएको छ। उक्त सम्मानपछि पत्रकारहरुलाई सम्बोधन गर्दै आशा मुखिया लामाले भनिन् – आफुले साहित्य, संस्कृति र समाज सेवामा गरेको कार्यहरुको सोधीखोजी गरेर यसरी मानार्थ डाक्टरेटको उपाधिद्वारा सम्मानित गरेकोमा धेरै खुशी लागेको छ। यसको लागि डिभाइन थियोलोजिकल ओपेन युनिभर्सिटीलाई धेरै धन्यवाद छ। हुन त मैले साहित्य र समाज सेवा, संस्कृतिमाथि काम सम्मान पाउनु लागि गरेको होइन तर मेरो कार्यहरुलाई यसरी मूल्यांकन गरेर विद्यावारिधिको मानार्थ सम्मानले सम्मानित गरेकोमा धेरै खुशी छु।’
उनले अघि भनिन् -‘लगातार रुपमा काम गर्दै जाँदा कसैले हाम्रो कामलाई निहालेर मूल्याङ्कन गर्ने रहेछ भन्ने कुराको अनुभव भयो आज। लगातार रुपमा साहित्य र संस्कृतिको क्षेत्रमा कार्य गरेपछि आज आएर दक्षिण सिक्किमको नाम्चीस्थित डिभाइन थियोलोजिकल ओपेन युनिभर्सिटीको तर्फबाट आफ्नो आँठौं दीक्षान्त समारोहमा अन्य विशिष्ट योगदान दिने व्यक्तिहरुसितै मलाई पनि विद्यावारिधीको उपाधिले सम्मानित गरेकोमा आभार प्रकट गर्दछु।’
आशा मुखिया लामा वरिष्ठ साहित्यकार एंव समाजसेवी साथै सांस्कृतिक अभियन्ता पनि हुन्। उनी हालमा साहित्य अकादमी नेपाली भाषा परामर्श समिति नयाँ दिल्लीकी सदस्या पनि हुन्।

आशा मुखिया लामाले नेपाली साहित्यमा थुप्रै कृतिहरू प्रकाशित गरिसकेका छन्। उनको कृतिहरु – ‘रहर अक्षर’ (विविध रचना संग्रह -२०१९), गाडधन ( चिन्तन संग्रह – २०२०), चिसो मरुभूमितिर (यात्रा संस्मरण – २०२३) आदि प्रकाशित छन्। उनले गोर्खा जनपुस्तकालयद्वारा पुनः प्रकाशित चन्द्रिकाको १, २ र ३ मा सह सम्पादन गरेका छन्। त्यसरी नै उनले साहित्य अकादमीको तर्फबाट ‘प्रतिष्ठित व्यक्तित्व संस्मरण, संस्कृति विशेषाङ्क, भाषा परिसंवाद अनि समसामयिक विमर्श, मेरो जन्मथलो र कर्म थलोको कथा आदि पनि सम्पादन गरिसकेका छन्। विभिन्न सांस्कृतिक र सामाजिक संस्थाहरुसित जोडिएर सक्रिय रुपमा साहित्यिक र सामाजिक कार्यमा सक्रिय रुपमा लागि परेका छन्।