गान्तोक: ड्रग्समुक्त सिक्किम बनाउने उद्देश्यले राज्य पुलिसले केही महिनादेखि निरन्तर ड्रग्सको धन्दामा लिप्त हुनेहरूलाई पक्राउ गर्दै आइरहेको छ। यसै क्रममा हिजो सिङताम र पाकिमबाट ५ जनालाई पक्राउ गरेको छ।पक्रा पर्ने आरोपीहरूमा रोङ्गेक गान्तोक निवासी सुरज लामिछाने, तिब्बत पथ निवासी ठाकुर राज छेत्री, प्रकाश राई, माङथाङ निवासी टेक बहादुर छेत्री र तिलक छेत्रीकोरूपमा पुलिसले चिन्हित गरेकोछ। सिङताम पुलिसले जानकारी गराए अनुसार सुरज लामिछानेलाई मार्तम क्षेत्रमा संदिग्ध अवस्थामा घुमिरहेको विश्वासनीय सुत्रले पुलिसलाई जानकारी गराएको थियो। उक्त सूचना पाउनसाथ पुलिसको एक टोली त्यहाँ पुगेर आरोपीलाई केरकार गर्दा ५३ बोतल कफ सिरप फेला पारेको थियो। केरकारको क्रममा आरोपी छेत्रीले अन्य चारजनाको नाम पनि बताएपछि पुलिसले पक्राउ गरेको हो। सोही प्रकारले ८९ बोतल कफ सिरप अन्यहरूबाट पनि फेलापारेको छ। पुलिसले आरोपीविरूद्ध सिक्किम एन्टी ड्रग्स एक्ट २००६ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।







