गान्तोक: आधिकारिक भ्रमणको निम्ति दिल्लीमा रहेका सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज लोकसभा अध्यक्ष ओम बिरलासँग भेट गरे। भेटको क्रममा मुख्यमन्त्री तामाङले सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्ती समारोहमा उपस्थितिका लागि औपचारिकरूपमा निमन्त्रणा गरे। सिक्किमका जनताको तर्फबाट मुख्यमन्त्रीले दिएको निम्तोलाई अध्यक्ष बिरलाले स्वीकार्दै समारोहमा उपस्थित हुने वचन दिएका थिए। यस अवसरमा मुख्यमन्त्री तामाङले लोकतान्त्रित मूल्यलाई कायम राख्न अनि भारतको संसदीय परम्परालाई मजबुत बनाउन अध्यक्ष बिरलाको अनुकरणीय साहसको सराहना पनि गरेका थिए। अर्कोतिर मुख्यमन्त्री तामाङले आज केन्द्रीय कृषि एवं कृषक कल्याण मन्त्री शिवराज सिंह चौहानसँग पनि भेट गरे। भेटको क्रममा केन्द्रीय मन्त्रीले राज्यको कृषि क्षेत्रमा देखापरेको विभिन्न प्रकारको चुनौतीहरूलाई समाधान गर्न पूर्णरूपमा सहयोग प्रदान गर्ने आश्वासन दिएका थिए। मुख्यमन्त्री तामाङले सिक्किम राज्यले वर्षभरि पालन गर्ने राज्य स्थापनाको स्वर्ण जयन्ती समारोहमा उपस्थिति जनाउनको निम्ति राज्यका जनताको तर्फबाट निमन्त्रणा पनि दिए। केन्द्रीय मन्त्री चौहानले उक्त निम्तोलाई स्वीकार्दै समारोहमा उपस्थिति जनाउने वचन दिएका छन्। भेटको क्रममा सिक्किम राज्यलाई कृषि खेतीको क्षेत्रमा विकास गर्न विभिन्न ग्रामीण पूर्वधार विकासबारे पनि चर्चा परिचर्चा गरे। यस अवसरमा मुख्यमन्त्री तामाङले राज्यमा उत्पादित अलैचीको खेतीमा देखिएको समस्यालाई लिएर वैज्ञानिकहरूले तत्काल पहल गरेर अलैंची उत्पादनमा सुधार ल्याउनु पर्ने आग्रह गरे। यसका साथै उनले किसानहरूको सुविधा र जीविकोपार्जन सुनिश्चित गर्न आवश्यक पर्ने ग्रामीण सडक सम्पर्क सुधार गर्न प्रधानमन्त्री ग्राम सडक योजनाअन्तर्गत केन्द्रीय सहयोगको अपील गरे। मुख्यमन्त्री तामाङले राखेका मागलाई ध्यानमा राख्दै केन्द्रीय मन्त्री चौहानले सिक्किममा उत्पादन गरिने अलैंची खेतीमा आएको समस्या बुझ्न कृषि विशेषज्ञको टोली पठाउने वचन दिए। उनले खेतीयोग्य जमीनलाई प्रयोगमा ल्याउने केन्द्र सरकारको प्रतिबद्धतालाई प्रकाश पार्दै किसानहरूलाई प्रत्यक्ष वैज्ञानिक सहयोग पुग्ने बताए। केन्द्रीय मन्त्रीले सिक्किमको कृषि क्षेत्रलाई सुदृढ पार्न भारत सरकारको प्रतिबद्धताबारेमा पनि बताए।