गान्तोक: भारतीय जनता पार्टी सिक्किम प्रदेशको कार्यकारी समितिको एउटा बैठक आज पूर्व सिक्किमको सिङतामस्थित पार्टी मुख्यालयमा सम्पन्न भयो। बैठकको उद्देश्य आगामी 29 मईको दिन प्रधानमन्त्री नरेन्द्र मोदीको गान्तोक भ्रमणको तयारीलाई लिएर चर्चा गर्नु रहेको थियो। बैठकलाई सिक्किम प्रदेश अध्यक्ष एवं पूर्व विधायक डीआर थापाले अध्यक्षता गरेका थिए।
प्रधानमन्त्री मोदीको आगामी गान्तोक भ्रमण सिक्किम र सिक्किमवासीको निम्ति महत्वपूर्ण रहेकोले यसको तयारीमा पार्टीको तर्फबाट सहयोगको निम्ति आजको बैठक डाकिएको अध्यक्ष थापाले आफ्नो सम्बोधनमा बताए। उनले सबै पार्टी कार्यकर्तालाई प्रधानमन्त्रीको यस भ्रमणलाई सफल बनाउन आ-आफ्नो पक्षबाट योगदान दिने आह्वान गरे। बैठकमा प्रधानमन्त्री मोदीको आगामी भ्रमणलाई लिएर पार्टी कार्यकर्ताहरूलाई विशेष कामहरू पनि जिम्मा लगाइयो।
आजको विशेष बैठकको समापन पछि प्रदेश अध्यक्ष थापाले सिङताम बजारमा भारतीय जनता पार्टी, सिक्किम प्रदेशको धारावाहिक कार्यक्रम सेवा र सम्पर्कमा पनि सहभागिता जनाए।