भारतले युध्द होइन शान्ति चाहान्छ तर कुनै पनि प्रकारको षड्यन्त्र कसैले गर्छ भने त्यसको जवाब दिन पनि जान्दछ: सांसद राजु विष्ट
खरसाङ: अपरेशन सिन्दुरको सफलतामा भारतीय सेनालाई बधाई दिन्दै आज खरसाङमा तिरंगा यात्रा निकालिएको छ। दार्जिलिङको सांसद राजु विष्टको विशेष उपस्थितिमा खरसाङमा निकालिएको उक्त तिरंगा यात्रामा खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरु लगायत भूतपूर्व सैनिक संगठनका प्रतिनिधिहरु र स्थानीयहरु उपस्थित रहेका थिए। उक्त तिरंगा यात्रा खरसाङको टुरिस्ट लजदेखि शुरु भएर राष्ट्रिय राजमार्ग हुँदै अस्पताल मोड भएर वर्द्धवान रोड भएर मोटर स्ट्याण्ड र रेलवे स्टेशन परिसरमा पुगेर समापन गरिएको छ। यस तिरंगा यात्रामा सिन्दुर अपरेशनमा पाएको सफलताले लागि भारतीय सैनिकप्रति आभार प्रकट गरिएको छ। यस तिरंगा यात्रामा ‘हिन्दुस्तान जिन्दावाद’, ‘भारत माताकी जय’, ‘बन्दे मातारम’ जस्ता नाराहरु लगाइएको थियो। उक्त तिंरगा यात्रा रेलवे स्टेशन परिसरमा पुगेर पथ सभामा परिणत भएको छ।

उक्त पथ सभालाई सांसद राजु विष्टले सम्बोधन गर्दै यो तिरंगा यात्रा केवल साधारण यात्रा मात्र होइन तर सम्मान र गौरवको यात्रा हो अनि देश भक्तिको यात्रा हो भनी बताएका छन्। उनले यस तिरंगा यात्राको लागि खरसाङका जनतालाई धन्यवाद दिन्दै सिन्दुर अपरेशनले जुन सफलता पाएको छ, देशले जुन सफलता पाएको छ र देशको बहादुर सेनाले जुन सफलता पाएको छ त्यसको लागि आज हामी यहाँ छौं भनी बताएका छन्। सांसद राजु विष्टले आफ्नो सम्बोधनमा भने, ‘हाम्रो देश बुध्दको देश हो, युध्दको देश होइन। भारतले युध्द होइन शान्ति चाहान्छ। तर कुनै पनि प्रकारको षड्यन्त्र कसैले गर्छ भने त्यसको जवाब दिन पनि जान्दछ। त्यो जवाब बोर्डरमा मात्र सीमित नभएर भित्र पसेर पनि जवाब दिन सक्छ।’

उनले अघि भने, ‘अपरेशन सिन्दुरको सफलतामा हामी यहाँ भेला भएका छौं। अब पाकिस्तानले भारतलाई जिस्काउँदैन। जिस्कायो भने पनि हामी चुप लागेर बस्दैनौं। अपरेशन सिन्दुरमा भारतले पाकिस्तानलाई भित्र पसेर नै त्यहाँ भएको आतंकवादी ठेगानाहरुलाई ध्वस्त पारेको छ। खरसाङ र पहाडको जनताले पनि सिन्दुरको सफलतामा आज सम्पन्न तिरंगा यात्रामा उपस्थिति दिएर देशलाई आई परेको खण्डमा सदैव देशको कुनै पनि प्रकारको सेवा गर्न तयार र देश भक्तिको कुरा स्पष्ट देखाएको छ।’