गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज नयॉं दिल्लीमा केन्द्रिय गृहमन्त्री अमित शाहसॅंग भेट गरेर सिक्किम राज्य स्थापनाको ५०औं वार्षिकोत्सवमा सामेल हुनका लागि निमन्त्रणा दिएका छन्।
यस भेटको क्रममा मुख्यमन्त्रीले सिक्किमका जनताको तर्फबाट केन्द्रिय गृहमन्त्री शाहलाई वर्षभरि मनाइने स्मारक कार्यक्रमहरूमा भाग लिनका लागि औपचारिक रूपमा आमन्त्रित गरे। केन्द्रिय गृहमन्त्री शाहले निमन्त्रणा स्वीकार गरेको मुख्यमन्त्रीले आज सामाजिक सञ्जालमा जानकारी गराएका छन्।
अन्तरक्रियाको क्रममा मुख्यमन्त्रीले अपरेशन सिन्दूरको सफलताको लागि केन्द्रिय गृहमन्त्रीलाई हार्दिक बधाई दिएँ। उनले यो महत्वपूर्ण आतङ्कवाद विरोधी अपरेशन प्रधानमन्त्री नरेन्द्र मोदीको सशक्त नेतृत्वमा आतङ्कवाद उन्मूलन गर्ने राष्ट्रको दृढ प्रतिबद्धताको प्रमाण रहेको उल्लेख गरेका छन्। यस मिशनको सफलताले हाम्रो राष्ट्रिय गौरवलाई गहिरो रूपमा बढाएको र विश्वव्यापी मोर्चामा भारतको बढ्दो शक्ति र संकल्प प्रदर्शन गरेको उनले बताए।
मुख्यमन्त्रीले केन्द्रिय गृहमन्त्री शाहलाई सिक्किमका जनताको विकास र कल्याणको लागि उनको समर्थन, मार्गदर्शन र प्रोत्साहनको लागि हार्दिक आभार प्रकट गरेका छन्।
उल्लेखनीय छ, मुख्यमन्त्री प्रेमसिंह तामाङले आज केन्द्रिय रक्षामन्त्री राजनाथ सिंह र केन्द्रिय उर्जा मन्त्री मनोहर लाल खट्टरसॅंग भेट गरेर सिक्किम आउन निमन्त्रणा दिएका थिए। यस अघि मुख्यमन्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रिय वित्त मन्त्री निर्मला सीतारमणसॅंग भेट गरिसकेका छन्।