गान्तोक: गत दुई दिनदेखि आधिकारिक भ्रमणमा दिल्ली पुगेका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज देशका केन्द्रीय रक्षामन्त्री राजनाथ सिँहसँग भेट गरे। भेटको क्रममा मुख्यमन्त्री तामाङले केन्द्रीय मन्त्री सिंहलाई सिक्किमे जनताको तर्फबाट सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्ती समारोहमा उपस्थितिका लागि निमन्त्रणा दिए। केन्द्रीय मन्त्री सिंहले मुख्यमन्त्रीको आधिकारिक निम्तो स्वीकार्दै समारोहमा उपस्थिति हुने इच्छा व्यक्त गरेका छन्। अन्तर्क्रियाको क्रममा मुख्यमन्त्री तामाङले गत केही दिनदेखि देशले आंतकवादविरूद्ध शुरू गरेको सिन्दुर अपरेशनको उपलब्धिमाथि बधाई साथै शुभकामना दिएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा आतंकवादविरूद्ध शुरू गरिएको सिन्दुर अपरेशन देशको निम्ति एक माइलखुट्टीकोरूपमा प्रमाणित भएको बताए। केन्द्रीय रक्षामन्त्री सिंहले व्यस्त समयबीच भेटको अवसर दिइएकोमा आभार व्यक्त गरे।