मंगपु आईटीआईमा डीएचयूको लागि अतिरिक्त कोठा विस्तारको कार्य शुरु

IMG-20250522-WA0149

मङ्पु: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) का मुख्य कार्यपाल अनित थापाको निर्देशनमा मङ्पु आईटीआईमा सञ्चालित दार्जीलिङ हिल युनिभर्सिटी (डीएचयू) को भौतिक संरचना विस्तार कार्य शुरू भएको छ। डीएचयूमा कक्षा कोठा र अन्य आवश्यक कोठाहरूको अभावलाई सम्बोधन गर्न सम्बन्धित ईञ्जिनियरिङ विभाग र कार्यकारी निर्देशकलाई तत्काल भवन निर्माण कार्य शुरु गर्न आदेश दिइएको थियो। त्यही निर्देश अनुसार आजदेखि निर्माण कार्य शुरु गरिएको छ। डीएचयूका उपकुलपति डा. तेजी गुरूङ नाग र जीटीए प्रमुख अनित थापाबीच हालै भएको बैठकको परिणाम हो यो। उक्त बैठकमा डा. नागले युनिभर्सिटीमा कक्षा कोठा र अन्य आधारभूत सुविधाहरूको कमीले अफलाइन कक्षाहरू सञ्चालनमा कठिनाई भइरहेको जानकारी गराएका थिए। उनले युनिभर्सिटीको शैक्षिक गतिविधिलाई सहज बनाउन जीटीएको सहयोगको आग्रह गरेका थिए। १६ नोभेम्बर २०२१ मा सञ्चालनमा आएको हाल मङ्पु आईटीआईमा सञ्चालित डीएचयूमा अंग्रेजी, गणित, नेपाली, राजनीतिशास्त्र र इतिहास,‌ मास कम्युनिकेशन विषयमा स्नातकोत्तर तहको पढाइ भइरहेको छ। डा. तेजी माला गुरूङ नागले २० जनवरी २०२५ मा उपकुलपतिको पदभार सम्हालेपछि युनिभर्सिटीको शैक्षिक र भौतिक विकासमा जोड दिँदै आएका छन्। युनिभर्सिटीले हाल अफलाइन कक्षाहरू सञ्चालन गरिरहेको छ। तर कोठाहरूको अभावले विद्यार्थी र प्राध्यापकहरूलाई चुनौती थपिएको छ। जीटीए प्रमुख अनित थापाले यो समस्यालाई प्राथमिकतामा राख्दै मङ्पु आईटीआईमा अतिरिक्त कोठाहरू निर्माण गर्न तत्काल कदम चाल्न ईञ्जिनियरिङ विभागलाई निर्देशन दिएका थिए। यसले डीएचयूलाई थप व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

निर्माण कार्यको प्रगति र समयसीमा बारे थप जानकारी चाँडै सार्वजनिक गरिने जीटीए स्रोतले जनाएको छ। यो कदमले दार्जीलिङ पहाडमा उच्च शिक्षाको पहुँच र गुणस्तर वृद्धि गर्ने लक्ष्यलाई बल पुर्‍याउने विश्वास गरिएको छ। डीएचयूको विस्तारले स्थानीय विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर थप सुलभ हुने अपेक्षा गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement