सोनादा डिग्री कलेजलाई जिरो वेस्ट तथा फोहोरशून्य कलेज बनाउने टिडीको सङ्कल्प कार्यक्रम

IMG-20250522-WA0208

सोनादा: सोनादा डिग्री कलेजलाई फोहोरशून्य कलेज अथवा जिरो वेस्ट कलेज बनाउने सङ्कल्प कार्यक्रम बिहीबार गोराबारीस्थित टिडीको तत्वावधानमा र सोनादा डिग्री कलेजको संयुक्त आयोजनामा कलेजका इतिहास विभागका प्रमुख डा. प्रमोद छेत्रीको अध्यक्षतामा कलेजक‍ो प्रेक्षागृहमा सम्पन्न भयो। टिडीका निर्देशक उत्सव प्रधानको विशेष उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा सन्त टेरेजा स्कूल दार्जिलिङकी पूर्व शिक्षिका कमलेश राई प्रधान,विशिष्ट अतिथिको रुपमा उत्तर बङ्ग विश्वविद्यालयका हिमालयन स्टडीजका विभागीय प्रमुख डा. विनायक सुन्दास, सोनादा थाना आउटपोस्टका प्रभारी,सोनादा निम्न ग्राम पञ्चायतका प्रधान-उप प्रधान, थिलेन लामा, बैजन्ती तामाङ, रसिक छेत्री,गायत्री राई, श्रेया गुरुङ लगायत जिरो वेस्ट आन्दोलनलाई साथ दिने स्थानीय मानिसहरू लगायत कलेजका शिक्षण-अशिक्षण कर्मीहरू र विद्यार्थीवर्ग धेरै सङ्ख्यामा उपस्थित थिए। कार्यक्रममा प्राध्यापक मेघनाथ छेत्रीले टिडी र सोनादा डिग्री कलेजमाझको अन्तरसम्बन्धबारे जानकारी दिँदै टिडीकै माध्यमद्वारा कलेजलाई फोहोरशून्य बनाउने सङ्कल्प लिएकोमा खुशी व्यक्त गरे साथै यसै जिरो वेस्ट आन्दोलनमा सक्रियतासाथ सहभागी बनेकोमा सोनादा डिग्री कलेजका तीनजना विद्यार्थीहरूले विगत महिनामा राइजिङ भारत समिट २०२५ जस्ता राष्ट्रिय स्तरको कार्यक्रममा सहभागी बन्न सकेकोमा सम्पूर्ण कलेज परिवार नै गौरन्वान्वित बनेको कुरो जनाउँदै कलेजप्रति टिडीले दर्शाएको आत्मीयता र सहयोगप्रति आभार प्रकट गरे। सोनादाको गोराबारीस्थित टिडी जसले पर्यावरण संरक्षणको काम बितेका पाँच छ वर्ष अघिदेखि गर्दै आइरहेको छ। उक्त संस्थानले सोनादा डिग्री कलेजलाई पनि गत वर्षदेखि आफ्नो गोदमा लिएर तथा एडप्ट गरेर दार्जिलिङ पहाडका कलेजहरूमध्ये सर्वप्रथम स‍ोनादा डिग्री कलेजलाई फोहोर शून्य कलेज बनाउने सङ्कल्प लिएको छ। यसै संकल्पलाई पूरा गर्न सोनादा डिग्री कलेज र टिडीमाझ एक वर्ष अघि नै सम्झौता भएको अनि टिडीले सोनादा डिग्री कलेजका विद्यार्थीहरूलाई प्रशिक्षण दिएर आफ्ना गाउँ, समाज एवम् कलेजको परिवेशलाई कसरी जिरो वेस्ट बनाउन सकिन्छ त्यसतर्फ अग्रसर गराइरहेको कुरो आफ्नो सम्बोधनमा टिडीका निर्देशक उत्सव प्रधानले व्यक्त गरेका छन्। सबैको साथ र सहयोगले फोहोर शून्य तथा जिरो वेष्ट आन्दोलनलाई सफल पार्न सकिने कुरो उनले व्यक्त गरे। आफ्नो सम्बोधनमा प्रमुख अतिथि कमलेश राई प्रधानले सन्त टेरेजा स्कूलमा जिरो वेष्ट आन्दोलनको माध्यमद्वारा गरिएका विभिन्न कार्यहरूको स्मरण गराउँदै दृढ संकल्प, इच्छाशक्ति र मेहनतको फलस्वरूप हामीले हाम्रो परिवेशलाई जिरो वेस्ट (फोहोर शून्य) बनाउन सकिन्छ भन्ने विविध दृष्टान्तहरू दिँदै उनले विद्यार्थीहरुलाई धेरै प्रेरणा दिईन्। विशिष्ट अतिथि डा. विनायक सुन्दासले टिडीको माध्यमद्वारा सोनादा डिग्री कलेजका विद्यार्थीहरुले गरेका कार्यहरूको प्रशंसा गरेका थिए। आन्दोलनलाई सफल बनाउनलाई प्रत्येक व्यक्तिको मन मस्तिष्कमा यस्तो सकारात्मक सोँच हुनुपर्ने कुरो उनले बताउँदै यस अभियानमा आफूले सक्दो सहयोग पुर्याउने वचन पनि दिएका थिए। टिडीसँग संलग्न भएर जिरो वेस्ट आन्दोलनमा इन्टर्नको रुपमा काम गरिरहेका कलेजका दशजना विद्यार्थीहरु सौरव गुरुङ, अमित कुमार जमातिया, अरविन छेत्री, रोशनी छेत्री, गुलनाज बेगम, साइना राणा, जिया तामाङ, कृतिशा राई,महिमा राई, मानव राईको छ महिनाको अवधि पूरा भएकोले उनीहरूलाई टिडीको माध्यमद्वारा प्रमाणपत्र पनि वितरण गरेका थिए।
विद्यार्थीहरूको माध्यमद्वारा १२ माइल ८ माइल नयाँ बस्तीका जम्मा १०० घरहरूलाई फोहोरमुक्त बनाउन सक्षम बनेका उक्त दसजना विद्यार्थीहरूले फोहोर मुक्त आन्दोलनमा सहभागी भई कार्य गरेका आ- आफ्ना अनुभवहरु साझा गरेका थपए। आज ती विद्यार्थीहरुको आफ्नो इन्टर्नको अन्तिम दिन भएकोले टिडीले यिनीहरुलाई प्रमाणपत्र पनि प्रदान गरेर सुदूर भविष्यसम्म फोहोरमुक्त आन्दोलनमा सहभागी बन्ने आग्रह गरे।

कलेजलाई फोहोररमुक्त तथा जिरो वेष्ट बनाउने दिशातिर अग्रसर गराउनमा टिडी लगायत कलेजका भारप्राप्त प्राचार्य डा. रागिनी थापा, आइक्यु एसीका संयोजिका प्रा. पेन्चुला भोटिया कलेजका जिरो वेस्ट म्यानेजमेन्ट कमिटीका प्रा. डिच्छेन यल्मो, प्रा. बिन्दिया गुरुङ, प्रा. प्रवीणा लोहारको विशेष सक्रियता रहेको कुरो कार्यक्रममा चर्चा गरियो। कार्यक्रमलाई पर्वत रसाईलीले सञ्चालन गरेका थिए भने विद्यार्थीहरुद्वारा सामूहिक लोक नृत्यहरु पनि प्रस्तुत गरिएको थियो। दार्जिलिङ पहाडमै प्रथम पल्ट सोनादा डिग्री कलेजलाई टिडीले सहभागी गराएर जिरोवेष्ट तथ फोहोर शून्य कलेज बनाउने अभियानमा अग्रसर भएकोमा टिडी लगायत कलेजका भारप्राप्त प्राचार्य शिक्षण-अशिक्षणकर्मीहरू, विद्यार्थीवर्ग साथै आजको कार्यक्रमलाई सफल बनाउन सहभागी हुने सबैलाई कार्यक्रमका अध्यक्ष डा. प्रमोद छेत्रीले धन्यवाद ज्ञापन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement