खरसाङ: खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा तेस्रो अण्डर-१४ बोयज सब-डीविजनल फूटबल टुर्नामेण्ट आजदेखि शुरु भयो। युवा मामिला एवम् खेलकुद विभाग, जीटीए को सहयोगमा जारी यस टुर्नामेण्टमा बिहीवार २ वटा म्याच खेलियो। गोथल्स मेमोरियल खेल मैदानमा आज भएको पहिलो म्याचमा सुकना हाई स्कूलले जेआर३२ फूटबल एकाडमीविरुद्ध १८-० ले जीत हासिल गऱ्यो। म्याचमा दोर्जे तामाङ एक्लैले ११ गोल गरे। यसरी दोस्रो म्याचमा तीनधारे स्पोर्ट्स एसोसिएशनले हिल्स फूटबल एकाडमीविरुद्ध ३-० ले जीत हासिल गऱ्यो। आज दुईवटा म्याचको सञ्चालन हिल्स रेफरीज एसोसिएशनका सदस्यहरूले गरे, जसमा अर्बिन छेत्री, प्रमोद प्रधान, मुनीस गुरुङ र नोर्देन शेर्पा सामेल छन्। सञ्जय थापा फोर्थ अफिसियल थिए। यस टुर्नामेण्टमा जम्मा ८ वटा टीमले हिस्सा लिएको छ।