गञ्जु लामा गेटदेखि पाल्जोर स्टेडियमसम्म सफाई अभियान

IMG-20250521-WA0289

गान्तोक: आगामी २९ मईको दिन देशका प्रधानमन्त्री नरेन्द्र मोदीको सिक्किम भ्रमणलाई ध्यानमा राख्दै आज गान्तोक नगर निगम र शहरी विकास विभागको संयुक्त पहलमा देउरालीस्थित गञ्जु लामाद्वार, एमजी मार्गहुँदै पाल्जोर स्टेडियमसम्म सफाई कार्यक्रम आयोजन गऱ्यो। उल्लेखनीय छ, सिक्किम राज्य स्थापनाको ५०औं स्थापना दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदी गान्तोकस्थित पाल्जोर स्टेडियममा आयोजन हुने कार्यक्रममा सहभागिता जनाउने निश्चित भएको छ। सफाई कार्यक्रमलाई चार भागमा विभाजन गरिएको थियो। जसमा एउटा समूहले गञ्जु लामाद्वारदेखि पानी हाउसको शिव मन्दिरसम्म सफाई गऱ्यो। दोस्रो समूहले शिव मन्दिरदेखि अस्पताल डाँडासम्म, तेस्रो समूहले अस्पताल डाँडादेखि पाल्जोर स्टेडियम र एमजी मार्गसम्म सर सफाई अभियान चलाएको थियो। यस अवसरमा स्थानीय नागरिक, जीएमसी कार्यालय र शहरी विकास विभागका अधिकारीहरू साथै कर्मचारीहरुले सहभागिता जनाएका थिए। सफाई कार्यक्रम जीएमसीका मेयर निलबहादुर छेत्री, उपमेयर छिरिङ पाल्देन भोटिया र आयुक्त आरबी भण्डारीको निगरानीमा सम्पन्न भएको थियो। यसबीच गान्तोक निर्वाचन क्षेत्रका विधायक दिले नामग्याल बर्फुङपाले सफाईको महत्वबारे प्रकास पार्दै जीएमसीले प्रभावी पहल गरेको उल्लेख गरे। मेयर निलबहादुर छेत्रीले देशका प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी २९ मईको दिन सिक्किम आगमनलाई लिएर यस प्रकारको कार्यक्रम आयोजन गरेको जानकारी गराए। उनले थप जानकारी गराएअनुसार स्वच्छ भारत अभियान प्रधानमन्त्रीको अवधारणा रहेको र सिक्किमले सुन्दरतासित स्वागत गर्नुपर्ने उल्लेख गरे। मुख्यमन्त्री तामाङले शुरू गरेको सुनौलो अनि समृद्ध सिक्किम कार्यक्रम प्रधानमन्त्रीले शुरू गरेको स्वच्छता अभियानको एक भाग रहेको जानकारी गराए। यसक्रममा जीएमसीकी उपमेयर छिरिङ पाल्देन भोटियाले जीएमसीले गान्तोकका विभिन्न वार्डहरुमा सफाई अभियानलाई तीब्रता दिइरहेको जानकारी गराइन्। सोही प्रकारले पार्षद सन्दीप मालुले एमजी मार्ग देशको सबै भन्दा स्वच्छ बजारकोरूपमा मानिने गरेको र यसलाई कायम राख्नको निम्ति सबैले सहयोग पुऱ्याउनु पर्ने आग्रह गरे। सोही प्रकारले पार्षद मालुले एमजी मार्ग अहिलेसम्म स्वच्छ स्थानकोरूपमा हेरिने गरिएको र सोही अपेक्षा अनुसार सुन्दरतामा ध्यान दिइएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement