गान्तोक: नेपालका प्रतिनिधिहरूको एक टोलीले २० मईदेखि २२ मईसम्म सिक्किमको कञ्चनजङ्घा बायोस्फियर रिजर्भ (केबीआर) को तीन दिने ज्ञान आदानप्रदान भ्रमण सम्पन्न गरेको छ।
यो भ्रमण २०१६ मा युनेस्को विश्व सम्पदा स्थल र २०१८ मा बायोस्फियर रिजर्भको रूपमा मान्यता पाएको पारिस्थितिक र सांस्कृतिक रूपमा समृद्ध कञ्चनजङ्घा राष्ट्रिय निकुञ्जको संरक्षणमा सिक्किमको सफलताबाट शिक्षा लिने सहकार्य प्रयासको अंश थियो।
उक्त भ्रमण नयाँ दिल्लीमा युनेस्कोको दक्षिण एशियाका लागि क्षेत्रीय कार्यालय, सिक्किमको वन विभाग र नेपाल आधारित समृद्ध पहाड नामक गैरसरकारी संस्थाको संयुक्त तत्वावधानमा गरिएको थियो। यस भ्रमणको मुख्य उद्देश्य नेपाली प्रतिनिधिमण्डललाई संरक्षित प्राकृतिक क्षेत्रहरूको लागि युनेस्को मान्यता प्राप्त गर्नमा संलग्न प्रक्रियाहरू, फाइदाहरू र चुनौतीहरूको बारेमा जानकारी प्रदान गर्नु थियो।
विज्ञान तथा प्रौद्योगिकी विभागका प्रधान सचिव सन्दीप ताम्बेले कसरी कञ्चनजङ्घा राष्ट्रिय निकुञ्ज (केएनपी) लाई अफलाइन क्यामेरा ट्र्याप र एलन मस्कको स्टारलिङ्क सहितको वास्तविक-समय निगरानी प्रणाली जस्ता उन्नत प्रविधिहरू प्रयोग गरेर व्यवस्थापन गरिन्छ भनेर जानकारी गराए। यी उच्च-प्रविधि उपायहरूको बावजुद सीमाहरू पूर्ण रूपमा नियन्त्रण गर्न गाह्रो भएकाले सीमा सुरक्षा निरन्तर रूपमा चलिरहेको सीमापार तस्करीको कारण चिन्ताको विषय बनेको उनले बताए।
यस्ता चुनौतीहरूका साथै निकुञ्जले जंगली कुकुरहरू, डढेलो र शंकुधारी वनहरूमा हुने क्षतिको खतरा पनि सामना गरिरहेको उनले अवगत गराए। उनले केएनपीका प्रमुख सफलताहरू मध्ये एक शून्य फोहोर पर्यावरण कायम राख्ने प्रतिबद्धता हो, जसले आगन्तुकहरू र संरक्षणवादीहरू दुवैबाट प्रशंसा प्राप्त गरेको बताए।
भ्रमणको उद्देश्यको बारेमा बोल्दै युनेस्कोको नयाँ दिल्लीस्थित क्षेत्रीय कार्यालयका प्राकृतिक विज्ञानका कार्यक्रम अधिकृत नेहा मिधाले भनिन्, यो नेपाली प्रतिनिधिमण्डलको कञ्चनजङ्घा बायोस्फियर रिजर्भमा ज्ञान आदानप्रदान भ्रमण हो। कञ्चनजङ्घा बायोस्फियर रिजर्भले २०१८ मा युनेस्कोको अन्तरराष्ट्रिय मान्यता प्राप्त गरेको थियो। हाल, नेपालले आफ्नो तर्फको कञ्चनजङ्घा संरक्षण क्षेत्रलाई पनि बायोस्फियर रिजर्भको रूपमा ताेक्ने प्रयास गरिरहेको छ। उनीहरूसँग केही प्रश्न र जिज्ञासाहरू थिए। त्यसैले, भारतमा रहेको कञ्चनजङ्घा बायोस्फियर रिजर्भ- जसले नेपालसँग सांस्कृतिक र प्राकृतिक सम्पदा दुवै साझा गर्दछ, ती प्रश्नहरूलाई सम्बोधन गर्ने उत्तम ठाउँ हुनेछ भन्ने सौच्यौं। यो तीन दिने भ्रमण अवधि नेपाली प्रतिनिधिमण्डलले केबीआरका प्रबन्धकहरूसँग अन्तरक्रिया गरिरहेको उनले बताइन्।
यस तीन दिने कार्यक्रमको क्रममा प्रतिनिधिहरूले केबीआरका धेरै भागहरूको भ्रमण गरे, क्षेत्र-स्तरीय वन कर्मचारीहरूसँग भेटे, पारिस्थितिक पर्यटनमा संलग्न स्थानीय समुदायहरूसँग अन्तरक्रिया गरे र त्यहाँ व्यवस्थापन र संरक्षण अभ्यासहरूको अध्ययन गरे।