गान्तोक: देशका प्रधानमन्त्री नरेन्द्र मोदीको सिक्किम भ्रमणको तयारीलाई लिएर आज एसकेएम पार्टीको एक समन्वय सभा देउरालीस्थित समाज घरमा सम्पन्न भयो। पार्टीका कार्यकारी अध्यक्ष एवं पूर्वमन्त्री केएन लेप्चाको अध्यक्षतामा सम्पन्न भएको सभामा प्रधानमन्त्री मोदीको सिक्किम भ्रमणको तयारीबारे छलफल गरियो। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पार्टीका महासचिव एवं मन्त्री अरूण उप्रेतीले सिक्किम राज्य स्थापनाको ५०औं वर्षागाँठको अवसरमा आगामी २९ मईको दिन प्रधानमन्त्री मोदीको सिक्किम भ्रमण तय भइसकेको जानकारी गराए। वास्तवमा यो कार्यक्रम सिक्किम सरकारद्वारा गरिने भए तापनि पार्टीको तर्फबाट कार्यक्रमलाई सफल तुल्याउनको निम्ति पार्टीको तर्फबाट तयारी गर्नुपर्ने उल्लेख गरे। आगामी २९ मईको दिन पाल्जोर स्टेडियममा आयोजना हुने कार्यक्रमलाई ऐतिहासिक बनाउन पार्टीका कार्यकर्ताहरूले आफ्नो जिम्मेवारी इमान्दारपूर्वक निर्वाह गर्नुपर्ने सुझाउ उप्रेतीले दिए। मन्त्री उप्रेतीले सबै निर्वाचन क्षेत्रबाट १२ सय भन्दा अधिक मानिसहरू पाल्जोर स्टेडियममा थपर्नुपर्ने उल्लेख गरे। एसकेएम पार्टी एक अनुशासित पार्टीकोरूपमा चिनिने गरेकोले यसलाई कायम राख्न सबै पार्टी कार्यकर्ताहरूको जिम्मेवारी रहने बताए। उनको भनाइअनुसार प्रधानमन्त्रीले सिक्किम राज्य स्थापनाको ५०औं वर्षागाँठको अवसरमा सिक्किमलाई समर्पित गर्दै ५० रूपियाँको सिक्का जारी गर्ने घोषणा गरेको जानकारी गराए। प्रधानमन्त्रीको आगमनको क्रममा आम मानिसहरूलाई यातायातको निम्ति केही समस्या हुन सक्ने मन्तव्य महासचिव उप्रेतीले गरे। यो कार्यक्रम समग्र सिक्किमेली जनताको हितका लागि हो भन्दै उप्रेतीले सबैलाई उक्त दिन पाल्जोर स्टेडियममा उपस्थित भएर कार्यक्रमलाई सफल बनाउने आग्रह गरेका छन्। यस क्रममा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकव खालिङले प्रधानमन्त्री मोदीको भ्रमण सुनिश्चित भइसकेको जानकारी गराउँदै कार्यक्रमलाई सफल बनाउन पार्टीले सरकारसँग काँधमा काँध मिलार सहयोग गर्नुपर्ने अपील गरे। आगामी २९ मईको दिन प्रधानमन्त्री मोदी लिभिङ हेलिप्याडमा अवतरण गर्ने र त्यसबाट सोझै पाल्जोर स्टेडिय आउने कार्यक्रम रहेको छ। उनको स्वागत गञ्जु लामाद्वारदेखि पाल्जोर स्टेडियमम्म हुनेछ। खालिङले जनतालाई बिहान ८ बजीसम्म पाल्जोर स्टेडियम भित्र प्रवेश गर्नुपर्ने पनि सुझाउ दिए। उनको आगमनको क्रममा गान्तोकको विभिन्न ठाउँहरूमा सिक्किमको पारम्पारिक भेषवुषा लगाएर स्वागत जनाउनु पर्ने बताए। पाल्जोर स्टेडियम साथै एमजी मार्गमा पनि दस मिनटको सांस्कृतिक कार्यक्रम हुने बताए। यसक्रममा अन्तक्रिया कार्यक्रम पनि आयोजन गरिएको थियो। पार्टीको समन्वयक तथा मन्त्री सोनाम लामाले पार्टीका कार्यकर्ताहरूलाई प्रधानमन्त्रीको स्वागतका लागि आनुशासित हुनुपर्ने बताए। मन्त्री लामाले एसकेएम पार्टीको स्थापनाकालदेखि नै पार्टीका कार्यकर्ताहरूले अनुशासनलाई पालन गर्दै आएको उल्लेख गर्दै पार्टीले दिएको आदेश इमान्दारपूर्वक सबैले पालन गर्नुपर्ने आग्रह गरे। यसरी नै अप्पर बुर्तुक निर्वाचन क्षेत्रकी विधायक कला राईले प्रधानमन्त्रीको सिक्किम भ्रमण कार्यक्रमलाई सफल तुल्याउनको निम्ति समन्वय राखेर काम गर्ने आह्वान गरे।