गेजिङ: पश्चिम सिक्किमको गेजिङ जिल्ला जिल्लाअन्तर्गत हि-याङ्थाङकी मेधावी छात्रा इसा छेत्रीले भारतको प्रतिष्ठित अन्तरिक्ष अनुसन्धान संस्थान आईएसआरओद्वारा आयोजित “युवा वैज्ञानिक कार्यक्रम-यूभिका २०२५” मा सहभागिताको लागि अवसर पाएकी छन्।
इसा हाल हि-याङ्थाङ वरिष्ठ माध्यमिक विद्यालयमा नवौं कक्षमा अध्ययनरत छिन्। उनी युवराज छेत्री र प्रितीमाया छेत्रीकी सुपुत्री हुन्। देशभरिका हजारौं विद्यार्थीहरूमध्येबाट अत्यन्तै सीमित संख्यामा मात्र छनोट गरिने यस प्रतिष्ठित कार्यक्रममा सहभागिता हुने अवसर पापछि परिवार र विद्यालय परिवारले खुशी जाहेर गरेका छन्। उक्त कार्यक्रम १९ देखि ३० मईसम्म हैदराबादस्थित नेश्नल रिसर्च सेन्सिङ सेण्टरमा भइरहेको छ। यस कार्यक्रमले विद्यार्थीहरूलाई अन्तरिक्ष विज्ञान, प्रविधि र अनुसन्धानतर्फ अभिप्रेरित गर्ने लक्ष्य राखेको छ। कार्यक्रममा सहभागीहरूले इसरोका वैज्ञानिक, इन्जिनियर तथा अन्य विषय विशेषज्ञहरूसँग प्रत्यक्ष अन्तर्क्रिया गर्नेछन्। यसका साथै प्रयोगशाला भ्रमण गर्ने, परियोजना कार्यहरूमा संलग्न हुने र विविध प्रशिक्षणहरू प्राप्त गर्ने अवसर पाउनेछन्। एनआरएससीको मुख्य क्याम्पस हैदराबादको बालानगरमा अवस्थित छ। सहभागीहरूका लागि आवश्यक निर्देशनहरू र आवागमनका सहुलियतहरूको समेत व्यवस्था गरिएको छ। इसा छेत्रीको यस सफलताले सम्पूर्ण विद्यालय समुदायलाई हर्षित बनाएको छ। विद्यालयका प्रधान अध्यापक नारायण बस्नेत, शिक्षक शिक्षिका तथा सहपाठीहरूले उनलाई बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्यका कामना गरेका छन्। इसाको तयारीमा विद्यालयकी शिक्षक कविता बि।टको विशेष मार्गदर्शन र सहयोग उल्लेखनीय रहेको छ।
उनको यस उपलव्धिले सिक्किमका अन्य विद्यार्थी र युवाहरूलाई पनि विज्ञान, अनुसन्धान र अन्तरिक्ष प्रविधिप्रति आकर्षित गराउने प्रेरणादायी विषय बन्ने विश्वास गरिएको छ।