कलेजको उत्तरोतर प्रगतिमा हामी पूर्व विद्यार्थीहरुले पनि योगदान दिनु अनिवार्य छ: डा. महेश प्रधान
सोनादा: आफू जुन कलेजमा पढेर शिक्षा आर्जन गरियो त्यस कलेजको उत्तरोतर प्रगतिको लागि हामी पूर्व विद्यार्थीहरूले पनि योगदान दिनु अति आवश्यक छ। उक्त मन्तव्य सोनादा डिग्री कलेजको ३७औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै कलेजका पूर्व विद्यार्थी तथा वर्तमानमा साउथ फिल्ड कलेज दार्जीलिङका प्राध्यापक डा. महेश प्रधानले व्यक्त गरेका हुन्। आफ्नो सम्बोधनमा उनले राष्ट्रीय मूल्याङ्कन एवम् प्रत्यापण परिषद(न्याक)द्वारा कलेज र विश्वविद्यालयहरुमा गरिने मूल्याङ्कन पद्धतिबारेमा जानकारी दिँदै कलेजले आफ्नो संसाधनहरूको संरक्षण र सम्बर्द्धन कसरी गरिरहेको छ। सोही कुरालाई हेरेर न्याकले मूल्याङ्कन गर्ने भएकोले यसमा हामी पूर्व विद्यार्थीहरूको पनि दायित्व रहेकोले गर्दा हामीले पनि यथासक्य तन, मन, धन, वचन र कर्मले कलेजलाई सहयोग गर्नुपर्ने कुरोमा जोड दिँदै सेवा र दानको वास्तविक मूल्य र महत्वबारे उनले सम्झाए।

कलेजका प्राचार्य डा. एलपी गुप्ताको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा कलेजको आई. क्यु. ए. सी. का संयोजक डा. रागिनी थापाले स्वागत सम्बोधन गरेका थिए। आफ्नो सम्बोधनमा उनले कलेजको प्रगतिमा भुतपूर्व, वर्तमान र भावी विद्यार्थीहरू तथा कलेज परिवारकै यथेष्ट योगदान हुनु आवश्यक रहेको बताईन्। कलेजका प्राचार्य डा. एल. पी. गुप्ताले कलेजको आफ्नो सोह्र वर्षको प्राचार्यकालको प्रगति रिपोर्ट संक्षिप्तमा प्रस्तुत गर्दै विश्वविद्यालय अनुदान आयोगद्वारा मान्यताप्राप्त यस कलेजले न्याकबाट पनि राम्रै ग्रेड प्राप्त गर्न सकिने कुरो उनले बताए। समारोहलाई सम्बोधन गर्दै प्राध्यापक मेघनाथ छेत्रीले कलेजका पूर्व विद्यार्थीहरूको वर्तमान स्थितिबारे जानकारी दिएका थिए।

यस कलेजबाट अध्ययन गरी गएका विद्यार्थीहरूले प्रत्येक क्षेत्रमा विशिष्ट ओहोदाहरुसंगै असल व्यक्ति बनी विविध क्षेत्रमा योगदान दिन सक्षम भईरहेको कुरो बताउदै कलेजका पूर्व विद्यार्थीहरू डा. महेश प्रधान, डा. इगम खालिङ, डा. सुमन वान्तवा, प्रा.अमर शर्मा, प्रा. पर्वत रसाईली, प्रा. विशाल सिन्चुरी, प्रा.सुवास राई, नेट उत्तीर्ण शोधार्थी प्रवीणा सुब्बा, स्वर्णपदक प्रापक बनिता विश्वकर्मा, पत्रकार सञ्जीव मोहोरा , किरण छेत्री, आरजे समीर छेत्री, प्रताप राई आदि आदिको नाम उच्चारण गर्दै कलेजको साँचो मूल धन भनेको नै कलेजका पूर्व विद्यार्थीहरू र उनीहरूले समाजका विभिन्न क्षेत्रहरूमा दिईरहेको योगदान नै मुख्य रहेकोले यस वर्षको कलेजको स्थापना दिवस समारोहलाई कलेजका पूर्व विद्यार्थीहरुप्रति समर्पित र आमन्त्रित गरी गरिएको कुरो बताउदै राष्ट्रीय मुल्याङ्कन एवम् प्रत्यापन परिषद् द्वारा गरिने कलेजको मुल्याङ्कन प्रक्रियामा पूर्व विद्यार्थीहरूको योगदान बारेमा सम्झाएका थिए। प्रा. शरद गुरुङ (कालेबुङ कलेज), डा. महेश प्रधान( साउथ फिल्ड कलेज), प्रा.अमर शर्मा(दार्जीलिङ सरकारी महाविद्यालय), प्रा. विशाल सिञ्चुरी (सलेशियन कलेज), प्रवीणा सुब्बा(शोधार्थी, उत्तर बङ्ग विश्वविद्यालय) पत्रकार सञ्जीव मोहोरा, स्वयम् तामाङ लगायत धेरै संख्यामा कलेजका पूर्व विद्यार्थीहरू विशेष रुपमा उपस्थित रहेको यस समारोहमा कलेजको वर्तमान गवर्निङ बडीका सभापति तथा राज्य सभाका सांसद शान्ता छेत्री आफ्नो विशेष कामले समारोहमा अनुपस्थित रहेता पनि उहाँद्वारा पठाइएको लिखित शुभकामना सन्देशलाई प्रा. अनुपमा तामाङले पठन गरेर सुनाइन्।

कलेजका पूर्व विद्यार्थी अमन गुरुङ लगायत वर्तमान विद्यार्थीहरूले आधुनिक गीत, लोक गीत, लोक नृत्य आदि प्रस्तुत गरेर समारोहलाई रोचक र भव्य बनाएका थिए। प्रा. अनिल विश्वकर्माद्वारा धन्यवाद गरिएको समारोहलाई विद्यार्थीहरू सालिनी गुरुङ, कृति गिरी, मेघा रसाइलीले सञ्चालन गरेका थिए।








