गान्तोक: सिक्किम राज्य स्थापनाको ५०औं वर्षगाँठ तथा स्वर्णजयन्तीको अवसरमा देशका प्रधानमन्त्री नरेन्द्र मोदीको गान्तोक भ्रमण निश्चित भएको छ। आगामी २९ मईको दिन प्रधानमन्त्री गान्तोक आउनेछन्। यस सम्बन्धमा राजधानीको पाल्जोर स्टेडियममा विशेष तयारी पनि शुरु भएको छ।
सिक्किम सरकारका ग्रामीण विकास मन्त्री अरुण कुमार उप्रेतीको अगुवाइमा राज्य सरकारका जिम्मेवारी प्राप्त पदाधिकारीहरूले आज पाल्जोर स्टेडियममा तयारीको जायजा लिए जसमा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब कालिङ अनि विकास बस्नेत, प्रेस सचिव योगेन तामाङ, मुख्यमन्त्रीका ओएसडी कर्मा सुब्बा साथै सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चाका युवा अध्यक्ष लाक्पा मोक्तान प्रमुख रहेका छन्। यस अवधि प्रधानमन्त्रीको आगमनलाई लिएर विशेष छलफल पनि गरियो।
अर्कोतिर राज्य सरकारले प्रशासनिक तहमा पनि तयारी गरिरहेको छ। यस सम्बन्धमा मुख्य सचिव आर तेलाङ अनि प्रमुख प्रशासक भीबी पाठकको अध्यक्षतामा नियमित रुपमा बैठकहरू भइरहेको छ। उल्लेखनीय छ, भ्रमणअवधि प्रधानमन्त्री मोदीले राज्यमा केही प्रमुख पूर्वाधारको उद्घाटन गर्नेछन् भने केही परियोजनाको शिलान्यास गर्नेछन्। प्रधानमन्त्रीद्वारा उद्घाटन गरिने परियोजनामा नाम्चीमा नवनिर्मित ५ सय सय्याको अस्पताल प्रमुख रहेको छ।