खरसाङ: अल इन्डिया विमेन्स कन्फरेन्स,(एआईडब्लुसी) खरसाङ शाखाका महिलाहरुको एक टोलीले आज सिंगेल चियाबारीको काफेबारी, गोदामधुरामा गत १५ मईको दिन आगलागीको चपेटमा परेका पाँच परिवारसँग भेट गरेर राहत सामग्रहरु प्रदान गरेको छ। पीडितहरुसँगको भेटघाट समय कन्फरेन्सका सचिव सरोज चौहानले भनिन्, “हामीले यहाँको दुःखद घटनाको जानकारी सोसियल मिडियामार्फत पाएका हौं। हामी महिलाहरुमाझ काम गर्छौं। हामी महिला भएको कारण महिलाको दुःख राम्ररी बुझ्छौँ। हामीले पनि हजुरहरुलाई हाम्रो तर्फबाट केही सहयोग गर्न सक्छौं कि भनी केही सामानहरू ल्याएका छौं।”
कन्फरेन्सका महिलाहरुले खाद्यान्नका सामानहरू, महिलाको निम्ति लुगाहरू, कम्बलहरू आदि प्रदान गरेका छन्।
चौहानले अझ भनिन्, “यहाँको ठाँउसँग हाम्रो भावनात्मक सम्बन्ध पनि रहेको छ। म त झन् यही काफेबारीको प्राथमिक पाठशालामा पढेको हुँ।”
महिलाहरुले पीडितहरुको शान्ति अनि स्वास्थको निम्ति प्रार्थना गरे। ब्रह्म कुमारीका समारोहमा गाइने भजन पनि सुनाए।
पीडित पक्षबाट महिलाहरुलाई धन्यवाद दिँदै पीडित नितेन राईले भने, “हाम्रो दुःखको समयमा सरकार पक्षदेखि लिएर संघ संस्थाहरू पनि सहयोग दिनु आईरहनु भएको छ। हामी सबै प्रति कृतज्ञ छौं। हामीलाई हाम्रो छर-छिमेकीहरुले जुन माया अनि प्रेम देखाउनु भएको छ, त्यसको म वर्णन पनि गर्नु सक्दिन।”
स्मरण रहोस, घटना घटेको केही समयमा नै जीटीएका मुख्य कार्यपाल अनित थापा पनि घटना स्थलमा पुगेका थिए। उनले पीडितहरुको घर निर्माण गरिदिने प्रतिबध्दता दिएका छन्। प्राथमिक राहत कार्य खण्ड विकास अनि महकुमा कार्यालयबाट गरिएको थियो।
एआईडब्लुसीको टोलीमा बिना राई, रोजी छेत्री, मालाञ्च लेप्चा ,चन्द्री प्रधान, लोपामुद्रा बेनर्जी , इन्द्रकला प्रधान अनि सरोज चौहान रहेका थिए।