गान्तोक: सिक्किम ओलम्पिक एसोसिएशनले आज सिच्छेस्थित एउटा होटलमा सिक्किमका सम्बद्ध खेल संस्थाहरूलाई लिएर समन्वय बैठक आयोजना गऱ्यो। बैठकमा खेलकुद तथा युवा मामिला विभागका मन्त्री राजु बस्नेत, विभागकी सचिव याङचेन डी. लामा, सिक्किम ओलम्पिक एसोसिएसनका अध्यक्ष कुबेर भण्डारी, उपाध्यक्ष सी जाङ्पो, महासचिव जसलाल प्रधान लगायत अन्यहरूको उपस्थिति रहेको थियो।
बैठकको क्रममा सिक्किम ओलम्पिक एसोसिएसनले राज्यबाट विभिन्न खेलकूदको क्षेत्रमा पदक हासिल गर्ने उत्कृष्ट खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गर्दै साथै संस्थाले खेलकूद संस्थाहरूलाई अनुदान पनि वितरण गर्यो।
बैठकलाई सम्बोधन गर्ने क्रममा मन्त्री बस्नेतले पुरस्कार प्रापक सबै खेलाड़ीलाई बधाई साथै शुभकामना दिए। विगत केही वर्षहरूमा राज्यमा खेलकुदको क्षेत्रमा धेरे प्रगति भएको मन्तव्य पोख्दै वर्तमान मुख्यमन्त्री स्वयं खेलकुदको लागि गम्भीर रहेको बताए। राज्यमा खेलकुदलाई अझ विकास गरेर लैजानको लागि सरकारले विभिन्न ठाउँहरुमा जिर्णोधार अवस्थामा रहेको खेलकुद मैदानलाई सुधार गर्ने र प्रत्येक जिल्लामा एउटा स्टेडियम निर्माण गर्ने योजना रहेको जानकारी दिए। सरकारले स्पोर्टस भिलेज पनि निर्माण गर्ने योजना रहेको बताउँदै यसकोलागि डेढ सय करोड धनराशि आवण्टन गरिने पनि बताए। सरकार र विभागले आफ्नो पक्षबाट खेल क्षेत्रको विकासकालागि आश्यक पहल साथै सहयोग गरिरहेको बताउँदै अब उत्कृष्ठ खेलाड़ीहरू तयार पार्ने काम सम्बन्धित सङ्घ संस्थाको रहेको मन्त्री बस्नेतले आफ्नो सम्बोधनमा बताए। यसका साथै उनले प्रत्येक एसोसिएसनलाई सरकारबाट प्राप्त प्रोत्साहन राशिको कोषमा पारदर्शीतामा अप्नाउन उपयोगिता प्रमाणपत्र समयमा बुझाउनु पर्ने सल्लाह दिए।
आजको बैठकमा विभिन्न खेलकुद सङ्घले राखेका मागहरुलाई विभागले गम्भीरतापूर्वक लिएर त्यसमाथि आवश्यक पहलहरु उठाउने मन्त्री बस्नेतले आश्वासन दिएका छन्।