गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले, सिक्किम उच्च न्यायलयका न्यायधीश विश्वनाथ सोमादारको उपस्थितिमा आज रम्फूस्थित माइनिङ क्रिकेट खेल मैदानमा जडान गरिएको फ्लड लाइटको उदघाटन गरे। यस अवसरमा सिक्किम क्रिकेट एसोसिएशनका अध्यक्ष टीका सुब्बालगायत अन्य सदस्यहरूको पनि उपस्थिति रहेको थियो। यस अवसरमा मुख्य सचिव एकादश र सिक्किम क्रिकेट एसोसिएशन बीच एउटा प्रदर्शनी म्याच पनि आयोजना गरियो जसमा मुख्यमन्त्री तामाङले पनि सहभागिता जनाए। उल्लेखनीय छ, विशेष गरेर राज्य सरकारको सहयोगमा यस पूर्वधार विकासको निर्माण हुन सकेको हो। सिक्किमलाई क्रिकेट क्षेत्रमा अघि बढाउने उद्देश्यले राज्य सरकारले आफ्नो तर्फबाट विभिन्न प्रकारको सहयोग पुऱ्याउँदै आइरहेको छ।
सिक्किम क्रिकेट एसोसिएशनको पहलमा आयोजित आजको उदघाटन कार्यक्रममा सिक्किम विधानसभाकी उपाध्यक्ष राज कुमारी थापा, मन्त्रीगण, विधायकगण लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। उल्लेखनीय छ, सिक्किम राज्यमा क्रिकेट खेललाई बढावा दिने उद्देश्य राज्य सरकारले रम्फूस्थित माइनिङमा क्रिकेट मैदानलाई स्टेटडियमको रूपमा परिणत गरेको छ। राज्यमा पहिलोपल्ट क्रिकेट खेल मैदानमा फल्ड लाइटको जडान गरिएको हो। क्रिकेट खेललाई अघि बढाउको निम्ति सरकारले विभिन्न प्रकारले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा योगदान पुऱ्याउँदै आइरहेको छ। विगत धेरै वर्षदेखि राज्यमा क्रिकेट खेल मैदानको अभाव खटकिएको थियो भने अन्ततः सिक्किमले आफ्नो क्रिकेट खेल मैदान पाउन सफल बनेको छ।

यसरी नै राज्यको अन्य स्थानहरूमा पनि क्रिकेट खेल मैदान निर्माण गर्ने पहल भइरहेको छ।
राज्यमा क्रिकेट खेललाई अझ विस्तार गर्न विभिन्न स्थानमा क्रिकेट खेल मैदान निर्माण गर्ने योजना रहेको छ। यसका साथै महिलाहरूलाई पनि क्रिकेट क्षेत्रमा अघि ल्याउनको निम्ति संस्थाले प्रयास गरिरहेको छ।