खरसाङ: खरसाङ कलेजका आइ क्यु एस्सी र शोध उप समितिको संयुक्त आयोजनामा विविध विधाका साहित्यिक कृतिहरूको एकसाथ लोकार्पण सम्पन्न भएको छ। कलेजका पूर्व सहायक प्रा. रुक्मिणी छेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्राचार्य डा. समीर बल विशेष उपस्थित थिए भने नेपाली विभागका प्राध्यापकद्वय गंगाप्रसाद शर्माकृत लोकवार्ता विषयक ‘हाम्रा लोक वार्ताका कुरा’ र ‘नेपाली-हिन्दी उखान कोश’ र डा. योगेश खातीकृत अनूदित नाटक ‘को?’ साथै हिन्दी विभाग प्रमुख डा. प्रशान्त सरकारकृत शोधपरक ‘उदय प्रकाशका कथा साहित्य भूमण्डलीकरण का परिप्रेक्ष्य’ आदि नेपाली र हिन्दी भाषामा लिखित कृतिहरूको प्रमुख अतिथि र प्राचार्यको बाहुलीबाट लोकार्पण गरियो। डा. जयदीप भट्टाचार्य र डा. सपन प्रधानले क्रमशः विमोचित पुस्तकहरूको समीक्षात्मक टिप्पणी प्रस्तुत गरे भने लेखकहरूले आ-आफ्नो कृतिबारे संक्षिप्तमा प्रकाश पारे। प्रमुख अतिथिलाई विशेष उपस्थितिका लागि धन्यवाद दिँदै कलेजका प्राचार्य डा. बलले आगामी दिनहरूमा यसप्रकारको कार्यक्रम अझ भव्यसित गर्न सकिने विषयमा प्रोत्साहित गर्दै कलेज प्रशासन त्यस महत् कार्यका लागि तत्पर रहनेछ भनी बताए। प्रमुख अतिथि पूर्व प्राध्यापक रुक्मिणी छेत्रीले कृतिकार सबैलाई बधाइ दिँदै आजभोलि किताब पढ्ने पाठकको कमी रहेको अनुभव भए पनि तर गम्भीर र सच्चा पाठकहरूको कमी नरहेको जनाए। तपाईँहरू लेख्दै जानुहोस् हामी पढ्ने पाठकहरू छौं भनी आश्वासन दिए। स्मरण रहोस् खरसाङ कलेजले विगत केही वर्षदेखि यता शिक्षकहरूलाई पुस्तक लेख्ने कामका लागि प्रोत्साहित गर्दै आएको छ। प्रत्येक वर्ष नै संख्यात्मक पुस्तकहरू लोकार्पण गरिने परम्परा पनि शुरू भएको छ। यसरी सौहार्दपूर्ण समापन भएको उक्त कार्यक्रमको सञ्चालन प्रा. सुष्ना सुब्बाले गरिन् भने शोध उपसमितिको पक्षमा संयोजक सुभाशिष दासले स्वागत सम्बोधन राखे। औपचारिक धन्यवाद ज्ञापन प्रा. शंकरप्रसाद शाहले गरे।