आफू सदैव शान्ति, विकास र गणतन्त्रमा विश्वास गर्ने र त्यही अनुरूप कार्य गर्ने व्यक्ति हुँ: अनित थापा
खरसाङ: हामीले हाम्रो बोलीमा अनुशासन ल्याउनुपर्छ। कसैलाई धेरै आक्षेप र लाञ्छनाहरू पनि लगाउनु हुँदैन। उपयुक्त मन्तव्य जीटीएको मुख्य कार्यपाल अनित थापाले व्यक्त गरेका हुन्। जीटीए क्षेत्रका शिक्षकहरूमाथि लगाइएका विभिन्न आक्षेप र लाञ्छनाहरूको सन्दर्भबारे बोल्दै थापाले एउटा शिक्षक जस्तो गरिमामय र जिम्मेवार पदमा रहेका आदरणीय शिक्षकहरूलाई यसरी विभिन्न नामहरू दिएर आरोप लगाउने तथा लाञ्छनाहरू लगाइनाले उनीहरूको छविलाई नराम्रोगरी घात पुग्ने बताए। खरसाङ खण्ड अन्तर्गत मकैबारी चियाबगानको थापाथली गाउँमा आयोजित सार्वजनिक भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै यद्यपि थापाले आफ्ना पार्टी कार्यकर्ता अनि युवाहरूलाई कसैले उक्साउँदैमा नउक्सिने अनि अशान्ति सृजना नगर्ने आग्रह गरे। उनले आफू सदैव शान्ति, विकास र गणतन्त्रमा विश्वास गर्ने तथा त्यही अनुरूप कार्य गर्ने व्यक्ति रहेको जनाए।

थापाले आफूले राजनीतिक यात्राको शुरूआतदेखि नै गाली र विभिन्न आक्षेपहरू सहँदै आएको जनाउँदै यसले उनलाई आगामी दिनहरूमा राम्रा कार्यहरू गर्ने थप उर्जा र प्रेरणा प्राप्त भइरहेको बताए। कमल सुब्बाको सभापतित्वमा सम्पन्न समारोहलाई क्षेत्रीय सभासद कल्पना प्रधान अनि भागोप्रमो मकैबारी शाखा सभापति मण्डल छेत्रीले पनि सम्बोधन गरेका थिए।

रश्मी सुब्बाद्वारा सञ्चालित समारोहमा जीटीएका प्रमुख कार्यपाल अनित थापा अनि सभासद कल्पना प्रधानलाई ग्रामवासीको पक्षबाट सम्बर्द्धना जनाइयो भने समारोहमा जीटीएको एमओडी सभासद प्रणाम रसाईली, पाण्डु ग्राम पञ्चायत प्रधान, समिति सदस्य, पञ्चायत सदस्य लगायत विभागीय अभियन्ताहरू, भागोप्रमो प्रतिनिधिहरू आदिको उपस्थिति रहेको थियो।