नयाँ दिल्ली: राहत र खुशीको साथ सामान्य निराशा पनि अनुभव गरिरहेका भारतका स्टार ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ाले बताएअनुसार, अहिले ९० मीटरको आँकड़ालाई पार गरिसकेपछि उनी यसमा लगातार सुधार गर्ने प्रयास गर्नेछन् कारण उनको शरीर अहिले चोटबाट लगभग मुक्त भइसकेको छ जसले गत केही सालदेखि उनलाई सताइरहेको थियो। चेक रिपब्लिकका दिग्गज जान जेलेजनीको प्रशिक्षणमा रहने २ पल्टका ओलम्पिक पदक विजेता २७ वर्षीय नीरजले दोहा डायमण्ड लीगमा तेस्रो प्रयासमा ९०.२३ मीटरको थ्रो गरी आफ्नो करियरमा पहिलोपल्ट ९० मीटरको आँकड़ालाई पार गरे। यस उपलब्धिलाई हासिल गर्ने उनी एशियाका तेस्रो अनि समग्रमा २५औं एथलीट हुन्। दोहामा जर्मनीका जूलियन वेबरले आफ्नो छैटौं तथा अन्तिम प्रयासमा ९१.०६ मीटरको थ्रो गरी नीरजलाई पछि छोड़ेर पहिलो स्थानमा रहेर स्वर्ण पदक जिते।
नीरजले भने, म ९० मीटरको प्रयासले धेरै खुशी छु तर यो मेरो निम्ति तीतो-मीठो अनुभव रह्यो। यो खेलको हिस्सा हो। मेरो प्रशिक्षकले अहिले पनि मेरो थ्रो-को केही पक्षहरूमा काम गरिरहेका छन्। हामीले गत वर्ष फरवरीदेखि एकसाथ काम गर्न शुरु गरेका थियौं। म अहिले पनि धेरै कुराहरू सिकिरहेको छु। गत केही सालदेखि मलाई ग्रोइनको चोटले सताएको थियो। त्यसले गर्दा म आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्न सकिरहेको थिइनँ। यस साल म धेरै असल अनुभव गरिरहेको छु। म मेहनत गर्न जारी राख्नेछु। मलाई यस साल वर्ल्ड च्याम्पियनशीप अघि हुने प्रतियोगिताहरूमा ९० मीटरभन्दा अधिकको दूरीमा भाला फ्याँक्न सक्ने विश्वास रहेको छ। उल्लेखनीय छ, वर्ल्ड च्याम्पियनशीपको आयोजन १२-देखि २१ सेप्टेम्बरसम्म टोक्योमा हुनेछ। हरियाणाको नीरज गत संस्करणका च्याम्पियन हुन्। नीरजको वर्तमान प्रदर्शनमा जेलेजनीको प्रभावलाई अस्वीकार गर्न सकिँदैन। गत वर्ष नोभेम्बरमा नीरजले उनलाई आफ्नो प्रशिक्षक नियुक्त गरेका थिए तर यस दिग्गज भारतीय खेलाड़ीले उनीसँग फरवरीदेखि नै काम शुरु गरेको बताएका छन्। जेलेजनीको नाममा यस खेलको वर्ल्ड रेकर्ड रहेको छ। उनले १९९६-मा ९८.४८ मीटरको थ्रो गरेका थिए अनि त्यो रेकर्ड अहिले पनि कायम छ।