गान्तोक: फुटवल डेभलप्मेन्ट प्राइभेट लिमिटेड (एफडीपीएल), सिक्किम सरकारको खेलकूद एवं युवा मामिला विभाग र डियर लटरीको संयुक्त पहलमा आयोजित सिक्किम प्रिमियर लीग (एसपीएल) को खिताब आक्रमण क्लबले हत्याएको छ। उक्त प्रतियोगिताको फाइनल खेल हिजो राजधानीस्थित पाल्जोर स्टेडियममा भव्यतासित सम्पन्न भएको थियो। उक्त कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिकारूपमा उपस्थित थिए। साथमा सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश विश्वनाथ सोम्मदर, सिक्किम विधानसभा अध्यक्ष एमएन शेर्पा, उपाध्यक्ष राजकुमारी थापा लगायत मन्त्रीहरु र अधिकारीहरु उपस्थित थिए। प्रतियोगिताको फाइनल खेल आक्रमण स्पोर्टिङ क्लब बनाम सिङलिङ स्पोर्टिङ क्लबबीच सम्पन्न भएको थियो। जसमा आक्रमण एफसीले शून्यकोविरूद्ध एक गोल गर्दै च्याम्पियनको खिताब आफ्नो नाम गरेको थियो। प्रतियोगिताको विजयी दल आक्रमण एफसीलाई नगद २० लाख सहित ट्रफी प्रदान गरियो। उपविजेता सिङलिङ एफसीलाई नगद दस लाख र ट्रफी मुख्यमन्त्री तामाङको बाहुलीबाट प्रदान गरियो। फाइनल खेलमा बलिहुडका प्रसिद्ध गायक लकी अलीले सांगीतिक प्रस्तुति दिएका थिए। आक्रमण एफसीका खेलाडी तेण्डोङ लेप्चालाई इमर्जिङ प्लेयर अफ् द टुर्नामेन्ट घोषणा गरियो। सोही प्रकारले आक्रमण एफसीका खेलाडी नुनु सेडुलाई म्यान अफ् द म्याच घोषित गरियो भने इमर्जिङ प्लेयर अफ् द टुर्नामेन्ट तेण्डोङ लेप्चालाई २५ हजार प्रदान गरिएको थियो। यसरी नै फेयर प्ले ट्रफी गेजिङ युनाइटेड एफसीलाई प्रदान गरियो। उत्कृष्ट गोलकिपरकोरूपमा निन्डुप लेप्चालाई ५० हजार प्रदान गरियो। उत्कृष्ट कोचकोरूपमा ड्रेगोन्स एफसीका निकोलस राईलाई नगद २५ हजार प्रदान गरियो भने प्लेयर अफ् द टुर्नामेन्ट सिङलिङ एफसीका खेलाडी उत्तम राईलाई घोषणा गर्दै रोयल इनफिल्ड मोटर बाइक पुरस्कारस्वरूप प्रदान गरियो। सोही प्रकारले गोल्डेन बुट ड्रेगन्स एफसीका खेलाडी डोगुलस कोस्टालाई प्रदान गरियो। जसमा नगद ५० हजार पनि रहेको थियो।